images
images

रवीन्द्र मिश्र र धवलशमशेर उपयुक्त समयमा अदालतमा उपस्थित हुने

काठमाडौँ – चैत १५ गते राजधानीको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक भएसँगै अदालतमा मुद्दा खेपिरहेका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा उपयुक्त समयमा छिट्टै अदालतमा उपस्थित भएर कानुनी लडाइ लड्ने बताइएको छ ।

मिश्र हाल स्वास्थ्य लाभ र विश्रामका लागि परिवारसँगै रहेको मिश्र निकट राप्रपाका एक नेताले बताए ।  ती नेताका अनुसार मिश्र अहिले ‘फरार’ हैनन्, तर अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा नरहेका मात्र हुन्।

‘अदालतले हाजिरी जमानीमा छाडेको हो भनेपछि बाहिर रहेर मुद्दा लड्न पाइन्छ,’ ती नेताले बताए ।  यस्तै राणा पनि पार्टीकै काममा खटिइरहेका छन् ।  उपस्थित नभएकै कारण अदालतले उनीहरुलाई पक्राउका लागि वारेन्ट जारी गर्ने तयारी गरेको बताइँदा उनीहरू अब छिट्टै अदालतमा हाजिर हुन लागेको बताइएको छ ।

 

 

यसअघि ३९ जना प्रतिवादीसँगै थुनछेक प्रक्रियामा सहभागी हुँदा लामो समय लाग्ने र सो अवधिमा हिरासतमै बस्नुपर्ने स्थिति आउनसक्ने भएकाले योजनाअनुसार नै त्यतिबेला अदालतमा उपस्थित नभएको राणा निकट स्रोतका भनाइ छ ।  अब कानुनविदु्सँग राय लिएर उनीहरू अदालतमा उपस्थित हुने स्रोतको भनाइ छ ।

 

 

बन्दी प्रत्यक्षीकरण रिट दायरसँगै सर्वोच्च अदालतको आदेशका आधारमा मिश्र रिहा भएका थिए । यस्तै राणा क्यान्सरको उपचारका लागि रिहा भएका थिए ।  काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर हुँदा भने उनीहरु पनि प्रतिवादी छन् । तर पनि उनीहरु थुनछेक बहस हुँदा उपस्थित नभएका हुन् ।