images
images

रास्वपालाई छाडेर तीन ठूला दलबीच संसद् खुलाउने सहमति

काठमाडौँ – संसद अवरोध खुलाउन सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका नेताहरू सहमत भएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्र संसद अवरोध  खुलाउन सहमत भएका हुन् ।

तीन दलको सहमतिमा रास्वपाले भने सहमति जनाएको छैन।

नेताहरूका अनुसार भिजिट भिसामा विदेश जानेसँग हुने गरेको भनिएको अपारदर्शी आर्थिक लेनदेनको विषयमाथि बृहत्तर छानबिन गर्ने सहमति भएको छ । यो विषयमा बिहीबार नै प्रमुख दलहरुबीच सहमति भएको थियो । त्यसलाई आज औपचारिकता दिने तयारी भइरहेको छ ।

माओवादी नेता वर्षमान पुनले रास्वपालाई सहमतिमा ल्याउने प्रयास भए पनि नमानेको बताए।

 

दुई बुँदे सहमतिमा भिजिट भिसा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानलाई सहयोग गर्ने सहमतिको पहिलो बुँदामा छ।

दोस्रो बुँदामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा विगतदेखि देखिएका समस्याहरूलाई अध्ययन/छानबिन गर्ने उल्लेख छ।

रास्वपाले भने यसबारे धारणा सार्वजनिक गरिसकेको छैन । रास्वपा अहिले आन्तरिक छलफलमा छ ।