images
images

राष्ट्रिय स्वतन्त्र पार्टीसहित प्रतिपक्षलाई संसदमा नपेल्न सभामुख र सत्तापक्षलाई आग्रह-पूर्वअर्थमन्त्री पुन

काठमाडौँ– माओवादी केन्द्रका सांसद् एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टीसहित प्रतिपक्षलाई संसदमा नपेल्न सभामुख र सत्तापक्षलाई आग्रह गरेका छन्।

आइतबार प्रतिनिभिधसभामा विनियोजन विधेयक २०८२/८३ को बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै पुनले संख्याको बलमा प्रतिपक्षीलाई पेलेर अघि बढ्ने सोच त्याग्न आग्रह गरेका हुन्।

 

रास्वपालाई पनि बजेटमाथिको छलफलमा सहभागी हुने वातावरण बनाउन उनले आग्रह गरे । संसदको तेश्रो ठूलो र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसँग दुई बुँदे सहमति भएकाले बाँकीलाई पेलेरै जान सकिन्छ भन्ने नठान्न उनले चेतावनी दिए।

भिजिट भिषा प्रकरणलाई लिएर माओवादीले संसदमा आन्दोलन छाडे पनि रास्वपाले कायमै राखेको छ। उसको अवरोधबीच सभामुख देवराज घिमिरेले सरकारको निर्देशनमा पेलेर संसद चलाएपछि पुनले आपत्ति जनाएका हुन्।

संसदीय अंकगणित र सत्तापक्ष र प्रतिपक्षीको भूमिका हेरफेर भइरहने विषय ख्याल गर्न उनले सत्तारुढ दलहरुलाई आग्रह गरे।

‘सम्माननीय सभामुखज्यू संसदको अभिभावक पनि हुनुहुन्छ । सत्तापक्षका साथीहरुलाई पनि जबर्जस्ती बल प्रयोग नगरी संयमित ढंगले प्रस्तुत हुन आग्रह गर्दछु, पुनले भने, ‘प्रमुख प्रतिपक्षी दल सहमतिमा आइसक्यो । अब यसलाई पेले पनि हुन्छ भन्ने ठान्नु हुँदैन । किनभने कहिले को सत्तापक्षमा, कहिले को प्रतिपक्षमा हुन्छ । कहिले कसको संख्या सानो हुन्छ कहिले कसो ठूलो हुन्छ । संसदीय गणित हेरफेर भइराख्ने कुरा हो ।’

पुनले रास्वपालाई संसदमा एक्ल्याइयो भन्ने ठानेर विगतदेखिका राजनीतिक एजेण्डामा रास्वपासँग प्रतिशोध साँध्ने मौकाका रुपमा उपयोग खोजिए राम्रो नहुने बताए।

‘यही बेलामा विगतदेखिका केही सानातिना कुरालाई लिएर प्रतिशोध लिइहालौं भन्नेजस्तो सत्तापक्षले गर्न मिल्दैन । सत्तापक्ष जिम्मेवार बन्नुपर्छ र संसदको अभिभावकको भूमिकामा रहनुभएको सम्माननीय सभामुख महोदयले उहाँहरुलाई पनि संवादमा ल्याउने र बजेटमा आफ्ना धारणा राख्ने वातावरण बनाउने प्रयास गर्नुपर्छ ।’