images
images

ललितानिवास जग्गा प्रकरण: चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं- ललितानिवास जग्गा प्रकरणमा चार जना पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पूर्वउपप्रधान एवं भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्व भूमि सुधारमन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ पूर्जी जारी गरेकाे प्रहरी उच्च स्रोतले जानकारी दिएकाे छ।

सिआइबीले यस प्रकरणमा ४ पूर्वसचिवसहित ४०६ जनाविरुद्ध पक्राउ पूर्जी लिइसकेको छ।

अख्तियारले गच्छदार र श्रेष्ठविरुद्ध ९ करोड ६५ लाख प्रतिव्यक्ति बिगो दावी गरेकाे थियाे भने जोशीविरुद्ध सात करोड ८ लाख रुपैयाँ बिगो दावी गरेकाे थियाे।

सिआइबीले पनि अघिल्लो पटक जिल्ला सरकारी वकिल कार्यालयलाई गच्छदारसहित तत्कालीन मन्त्रीहरूलाई मुद्दा चलाउनुपर्ने राय दिएको थियो। त्याे बेला अनुसन्धान प्रतिवेदन सीआईबीलाई नै फर्काइएको थियो।

सर्वोच्च अदालतले आइतबारमात्र निर्णय र निर्णय प्रक्रियामा संलग्नहरूका साथै तत्कालीन प्रधानमन्त्रीहरूलाई समेत अनुसन्धानको दायरामा ल्याउन आदेश दिएकाे थियाे।

ललितानिवास प्रकरणमा २० जना हिरासतमा छन्।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, धर्मप्रसाद गौतम, समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे, नक्कली मोही देवनारायण महर्जन, तत्कालीन नापी अधिकृत ध्रुव अर्याल, गोपाल कार्की, काठमाडौं ५ का तत्कालीन वडा सचिव शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन, तत्कालीन नापी कार्यालयका कर्मचारी घमानकुमार कार्की, समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेल, भौतिक योजना मन्त्रालयका तत्कालीन सिनियर डिभिजन इन्जिनियर बालकृष्ण श्रेष्ठ, भूमि व्यवस्था विभागका तत्कालीन महानिर्देशक रूद्रप्रसाद श्रेष्ठ, तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल, खरिदार नारायणदास मिश्र, सकुलनन्द महर्जन र सञ्जय महर्जन प्रहरी हिरासतमा छन्।