काठमाडौँ, २ असार – प्रमुख प्रतिपक्ष दल माओवादीबाट शक्ति बस्नेतले बोल्ने क्रममा रास्वपा सांसदहरू सदनमा नाराबाजी रोकेर मौन बसेका छन् । सत्ता पक्षका सांसद बोल्दा वेलमा नाराबाजी गरेका उनीहरू प्रमुख प्रतिपक्षीका सांसद बोल्दा भने मौन बसेका हुन् ।
सत्ता पक्षसँग संसद् सञ्चालन र भिजिट भिसा प्रकरणको छानबिनमा सहमति भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले रास्वपा र आफूहरूबीच आरोपप्रत्यारोप नहुने बताएका थिए ।
सोमबार पनि विपक्षी दलहरू रास्वपा र राप्रपाको विरोध जारी रहे पनि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकको कार्यसूची अघि बढाएका छन् । सभामुख घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदले उठेर विरोध जनाएका थिए ।
सभामुखले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भनाइ राख्न समय दिए । उनले संसद् बैठक जबर्जस्ती सञ्चालन नगर्न सभामुखलाई आग्रह गरे । यसपछि बोलेका रास्वपा प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गरे ।









