काठमाडौँ, २ असार – लिम्बु समुदायको पवित्र तीर्थस्थल मुक्कुम्लुङ (पाथिभरा) मा निर्माणाधीन केवलकार परियोजनाको विरोधमा स्थानियहरूले जंगलै कब्जा गर्दै वृक्षारोपण गरेका छन् । मुक्कुम्लुङ संघर्ष समितिको अगुवाइमा ’नो केवलकार’ अभियान अन्तर्गत स्थानियहरुले दुई दिन वृक्षारोपण गरेका हुन् ।
केवलकार निर्माणको नाममा हजारौं बोट विरुवा काट्ने र नाफामुखी कम्पनीको विरुद्धमा स्थानियले विरोध स्वरुप वृक्षारोपण गरेको हुन् । करिब १० हजार बिरुवा पाथिभराको जंगल क्षेत्रमा रोपिएको जनाइएको छ । गुराँस, चिमाल, लौठ सल्ला, गोब्रे सल्ला लगायतका जातका बिरुवाहरू रोपिएको हो ।

निर्माण कम्पनी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको हो । जसले पहाड चिरेर केवलकारको ट्र्याक बनाउँदै हजारौं रुख काटेको स्थानियको आरोप छ । यसअघि पनि बिना कुनै समुचित वातावरणीय अध्ययन र स्थानीय परामर्श केवलकार परियोजना अघि बढाइएको भन्दै तीव्र विरोध भइरहेको थियो ।
केवलकार परियोजना लिम्बु समुदायको धार्मिक आस्था, सांस्कृतिक पहिचान र पर्यावरणीय सन्तुलनमाथि हमला रहेको मुक्कुम्लुङ संघर्ष समितिको भनाइरहेको छ । वातावरणीय रूपमा पनि केवलकारले ठूला नोक्सान गर्ने खतरा रहेको स्थानिय बताउँछन् । १०० रोपनीभन्दा बढी वनक्षेत्र विनाश भएको र त्यसबाट भू–स्खलन, बाढीपहिरोको जोखिम बढेको तथ्यांक स्थानीयले प्रस्तुत गरेका छन ।

यस्तै, तीर्थयात्रीलाई सेवा दिने पोर्टर, होटल व्यवसायी, पसल सञ्चालक र धार्मिक कर्मकाण्ड गर्ने धामीझाँक्रीहरूको जीविकोपार्जनमै संकट पर्ने देखिएको छ ।निर्माणमा स्थानीयको सहमति नलिइ सरकारी, न्यायिक र सुरक्षात्मक संयन्त्रको दुरुपयोग गरिएको स्थानीयको गुनासो छ । परियोजनाको विरुद्धमा उत्रिएको जनताको आन्दोलनमा राज्यले गोली चलाएको, लाठीचार्ज गरेको र दबाब दिएको प्रमाण स्थानीयसँग छ । आधा दर्जनभन्दा बढी स्थानीय गम्भीर घाइते भइसकेका छन् । सुरक्षाकर्मीको आडमा कम्पनीले जबर्जस्ती निर्माण कार्य अगाडि बढाइरहेको छ ।

यसअघि सर्वोच्च अदालतले जारी गरेको अल्पकालीन अन्तरिम आदेशका कारण निर्माण रोकिएको थियो । तर, अदालतमा सेटिङ मिलाएर आदेश हटाई केवलकार पक्षमा बाटो खुलाइएको भन्दै थप आक्रोश फैलिएको छ । स्थानियले सरकारी संयन्त्र, न्यायालय र निजी कम्पनी मिलेर धर्म, पर्यावरण र स्थानीयताको विनाशको साझा योजना बनाएको आरोप लगाएका छन् ।











