images
images

सचिवमा बढुवाका लागि ३ सहसचिवको नाम सिफारिस

काठमाडौं, ३ असार – महालेखा नियन्त्रक रघुराम विष्टले अनिवार्य अवकाश पाएपछि रिक्त स्थानमा सचिव बढुवाका लागि ३ जनाको नाम सिफारिस भएको छ। लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षमा बसेको बढुवा समितिको बैठक सचिवमा बढुवाका लागि सहसचिवत्रय डण्डुराज घिमिरे, खगेन्द्रप्रसाद सुवेदी र कृष्णप्रसाद काप्रीको नाम सिफारिस गरेको हो। अब बस्ने मन्त्रीपरिषद्को बैठकले उनीहरूमध्ये १ जनालाई सचिवमा बढुवा गर्नेछ।

 

 

सचिव बढुवाका लागि १ नम्बरमा सिफारिस भएका सहसचिव डण्डुराज घिमिरे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत छन्। लोकसेवा आयोग कै सहसचिव खगेन्द्रप्रसाद सुवेदी २ नम्बरमा सिफारिस भएका छन्। सचिवमा बढुवा लागि ३ नम्बरमा सिफारिस भएका सहसचिव कृष्णप्रसाद काप्री शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक हुन्।

 

सचिवमा बढुवाका लागि २ नम्बरमा सिफारिस भएका सहसचिव सुवेदी ५८ वर्षे उमेर हदका कारण यहीँ भदौ १८ गते अनिवार्य अवकाशमा जाँदैछन्। अन्य अवस्था नआए अब सचिव बन्न मंसिर नै पखर्नु पर्ने हुन्छ। त्यति बेला उनी सेवानिवृत्त भएर घर गोइसकेका हुनेछन्। त्यसैले घिमिरेलाई उछिनेर सुवेदी सचिव बन्ने दौडधुपमा छन्। घिमिरे पनि ५८ वर्षे उमेर हद कायम रहँदा २ वर्ष मात्र सचिव चलाउनेमा पर्छन्। ३ नम्बरमा सिफारिस हुँदै सचिवमा बढुवाका लागि सुवेदीले प्रयास गरेका थिए। तर, भूपाल बरालका अगाडि उनको दाल गलेन। अहिले पनि उनको प्रयास जारी रहेको बुझिन्छ।