चितवन, ३ असार – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या नभएको बताउनुभएको छ । प्रेस सेन्टर चितवनले आज दाहाल निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भिजिट भिसा समस्या २०६४ सालदेखि भएको बताउनुभएको हो ।

दाहालले भन्नुभयो, “यो २०६४ सालदेखि चल्दै आएको छ भन्ने कुरो तपार्इंहरुले पनि थाहा पाउनुभएको छ र हामीले पनि थाहा पाएकै छौँ ।” यस विषयमा छानबिन र नीतिगत सुधार गर्नुपर्ने उहाँको भनाइ छ ।


यो मुद्दालाई त्यत्तिकै नछाड्ने उहाँले बताउनुभयो । यसका लागि जरुरी परे संविधान संशोधन, ऐन निर्माण र नीतिगत निर्णय गर्नु परे पनि गरिने उहाँको धारणा छ । उहाँले भन्नुभयो, “मैले छोडेर पनि यो मुद्दा नेपाली जनताले छाड्ने कुरा हुँदैन ।”

प्रचण्डले आफूहरु प्रतिपक्षमा भए पनि सत्ता पक्षको जस्तो भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले संविधानका निम्ति, ऐन कानुनका निम्ति, सिस्टमका निम्ति सत्तापक्षको भूमिका खेल्नुपर्ने बाध्यता छ ।”










