काठमाडौँ -गत चैत १५ गतेको राजसंस्था पक्षधर आन्दोलनका क्रममा पक्राउ परेका युट्युबर प्रकाशचन्द्र दाहाल ५ हजार रुपैयाँ धरौटीमा छुटेका छन्।
नेपाल पुकार युट्युव च्यानलका सञ्चालक प्रकाशचन्द्र दाहाललाई काठमाडौँ जिल्ला अदालतले बुधबार ५ हजार धरौटीमा छाड्न आदेश दिएको हो।
काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक बहसमा दाहाल आफैँ उपस्थित थिए।
उनले चैत १५ गतेको आन्दोलनका क्रममा दुर्गा प्रसाईँको भिडियो खिचेका थिए। दुर्गा प्रसाईँसहित चैत १५ को घटनामा दाहालबिरुद्ध पनि मुद्दा दायर भएको थियो।
उनीविरुद्ध राज्यविरुद्धको कसूर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधसहित ६ वटा मुद्दा लगाइएको थियो। सोही दिनदेखि फरार दाहाल अदालतमा बयानका लागि हाजिर भएका थिए।










