मटिहानी – महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४४ करोड ५० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरप्रमुख हरिप्रसाद मण्डलले बुधबार सम्पन्न नगरपालिकाको १५औं नगरसभाको खुला सत्रमा नीति, कार्यक्रमसहित बजेट प्रस्तुत गरेका हुन्।
बजेट अन्तर्गत विभिन्न स्रोतहरूबाट हुने आम्दानी यस प्रकार छ: राजस्व बाँडफाँडबाट: १० करोड ५ लाख ,संघीय सरकारबाट: २८ करोड १० लाख,प्रदेश सरकारबाट: १ करोड २६ लाख,आन्तरिक स्रोतबाट: ५ करोड ९० लाख बजेट माथि नगरसभामा छलफल गरी अन्तिम रूप दिइने जानकारी नगरप्रमुख मण्डलले दिएका छन्।

तीन मुख्य क्षेत्र प्राथमिकतामा, पर्यटन र पूर्वाधारमा पनि जोड
मेयर मण्डलका अनुसार, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकता दिइएको छ। साथै, धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्पदाहरूको संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।“मटिहानीको मुख्य पहिचान यसको धार्मिक र सांस्कृतिक सम्पदा हो। ती सम्पदाको संरक्षण र विकासबाटै समृद्ध मटिहानीको निर्माण सम्भव छ,” उनले भने।
पर्यटन प्रवर्द्धनका लागि मटिहानी मठलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने पहल, गोसाइँकुण्ड, पोखरी र जलसागरको सौन्दर्यीकरण, मठ-मन्दिर तथा मस्जिदहरूलाई पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने योजना सार्वजनिक गरिएको छ। नगरका कर्मचारीलाई १० दिनको तलब सहितको पर्यटन काज दिने व्यवस्था मिलाइने बताइएको छ।

शिक्षा क्षेत्रमा मैथिलीको प्रवर्द्धन र डिजिटल पहुँच
शिक्षा क्षेत्रमा मैथिली भाषाको संरक्षण तथा संवर्द्धन गर्न कक्षा १ देखि ८ सम्म १०० पूर्णाङ्कको मैथिली विषय पढाइने छ।
थप रूपमा: छात्राहरूलाई निःशुल्क साइकल वितरण ,जेहेनदार, दलित, विपन्न, अपांग तथा सहिद परिवारका विद्यार्थीलाई नगरप्रमुख छात्रवृत्ति ,सबै विद्यालयमा फ्री बुक एन्ड ब्याग डे कार्यक्रम ,सूचना प्रविधि पहुँच विस्तारका लागि ल्यापटप वितरण
स्वास्थ्य क्षेत्रमा नि:शुल्क सेवा र वैकल्पिक चिकित्सा प्रवर्द्धन
स्वास्थ्य तर्फ: जनकपुर रेफर बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा ,गर्भवती महिलाका लागि निःशुल्क अल्ट्रासाउन्ड सेवा, आयुर्वेद तथा पारम्परिक चिकित्सा प्रणालीको विकासमा पनि विशेष जोड दिइएको छ।

कृषि, पशुपालन र युवा सहभागिता प्रोत्साहन
नगरपालिकाले व्यावसायिक खेती र पशुपालनमा युवाको सक्रिय सहभागिता बढाउने कार्यक्रम ल्याउनेछ। थप योजना मार्फत कृषि, पशुपालन, सिँचाइ, तालिम, उद्योग वाणिज्यका क्षेत्रमा पनि बजेट विनियोजन गरिएको छ।
समानुपातिक बजेट वितरण र वडास्तरको योजना कार्यान्वयन
वडा प्रशासनिक खर्चका लागि २७ लाख रुपैयाँ (३ लाख प्रतिवडा) ,वडास्तरबाट छनोट भएका योजनाहरूका लागि ६ करोड ३० लाख रुपैयाँ ,चालु वर्षमा अपूरा योजनाहरू सम्पन्न गर्न पनि बजेट छुट्याइएको छ।

थप कार्यक्रमहरू
मेयर मण्डलले समावेशीकरण, गरिबी निवारण, खेलकुद, पूर्वाधार, सञ्चार, वातावरण संरक्षण, विपद् व्यवस्थापन लगायतका विविध क्षेत्रका लागि पनि नीति, कार्यक्रम तथा बजेट छुट्याइएको जानकारी दिए।
नगरसभामा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलको प्रमुख आतिथ्य रहेको थियो। नगरसभा उद्घाटन सत्रमा जन-प्रतिनिधि, सरोकारवाला निकाय, कर्मचारी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।










