काठमाडौं, ६ असार – समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज (शुक्रबार) बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज दिउँसो २ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने बताइएको छ।
यसअघि बुधबार र बिहीबारका लागि तय भएको बैठक विशेष कारणवश स्थगन भएकाले आजका लागि सारिएको बताइएको छ। बिहीबार दिउँसो २ बजे एमाले, कांग्रेस र माओवादीका प्रमुख नेताबीच वार्ता हुने भनिए पनि अन्तिम समयमा स्थगन गरिएको थियो। यसअघि बुधबार हुने भनिएको छलफल पनि प्रचण्ड काठमाडौँ उपत्यका बाहिर रहेकाले हुन सकेन। आज उनीहरूबीच भेटवार्ताका लागि तेस्रो पटक समय निर्धारण गरिएको हो।









