काठमाडौं, ६ असार – काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘ओभरपास’को उद्घाटन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार एक समारोहका बीच ‘ओभरपास’को उद्घाटन गरेका हुन्।


०७८ सालबाट ओभरपास निर्माण सुरू गरिएको थियो।
०८० साल फागुनमा नै सम्पन्न गर्ने गरी आयोजना अघि बढाइएको भए पनि पटक–पटक म्याद थपिएको थियो। मुख्य संरचनाको निर्माण पूरासँगै लेन सेपरेटर राख्ने,लाइनिङ गर्ने,ट्राफिक बत्ती जडानलगायतका काम पूरा भएपछि सवारीसाधन सञ्चालनमा आएका हुन्।

२०७८ साल फागुन १२ गते राष्ट्रियस्तरको प्रतिस्पर्धामार्फत् आशिष–समानान्तर रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजारमा ओभरपासको ठेक्का पाएको हो। २०८० फागुन १२ गते सम्पन्न गर्ने सुरुको म्यादमा सम्पन्न नभएपछि २०८१ पुस ८ गतेसम्मको म्याद थप भएको थियो। ठेकेदार कम्पनीले पुस ८ गतेसम्म सम्पन्न नगरेपछि चैत्र मसान्तसम्मको भाका मागेको थियो। उक्त भाकाअनुसार काम भइरहेकोमा ओभरपासको ४० मिटरको पुनर्निर्माणले थप एक महिना म्याद सारिएको थियो। २०८२ वैशाखभित्र ग्वार्कोको ओभरपास निर्माण सम्पन्न हुने लक्ष्य लिइएकोमा वर्षाका कारण थप एक महिना निर्माण पर सारिएको थियो।
ग्वार्को ओभरपास निर्माणबाट चक्रपथको सातदोबाटो–कोटेश्वर सडक खण्ड, मंगलबजार–इमाडोल–लुभु सडक खण्डमा सवारी आवागमन सहज हुने अपेक्षा गरिएको छ।









