images
images

६१ किलो सुन तस्करी प्रकरणमा फरार अमला रोका काठमाडौंबाट पक्राउ

काठमाडौं -६१ किलो सुन तस्करी प्रकरणमा फरार अभियुक्त अमला रोका काठमाडौंबाट पक्राउ परेकी छिन्। प्रहरीले लामो समयदेखि खोजी गरिरहेकी रोकालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो।

प्रहरी स्रोतका अनुसार, रोका इण्टरपोलको डिफ्यूजन नोटिसमा सूचीकृत थिइन्। उनी यस काण्डमा मुछिएका बेल्जियम नागरिक दावा छिरिङकी पत्नी हुन्। ठमेलस्थित होटेल भियना समेत उनको नाममा दर्ता छ।

६१ किलो सुन प्रकरणको पृष्ठभूमि

राजस्व अनुसन्धान विभागले २०७९ साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो। प्रारम्भिक अनुसन्धानपछि विभागले १९ दिनपछि फाइल सीआईबीलाई बुझाएको थियो।

माओवादी नेतृको पहिचान र विवादास्पद सम्बन्ध

अमला रोका रोल्पाकी माओवादी नेतृ समेत हुन्। उनको पति दावा छिरिङले रोका मार्फत माओवादी नेताहरू, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुन, र चिनियाँ प्रभावशाली व्यक्तिसँग सम्बन्ध बनाएको अनुसन्धानमा खुलासा भएको छ।

२०७६ माघ १ गते अमला रोका, तीन चिनियाँ नागरिक र दिपेश पुन हेलिकप्टरमा गोसाइकुण्ड घुम्न गएको प्रमाण पनि प्रहरीले फेला पारेको छ।

चिनियाँ नेटवर्क र प्रहरी अपरेसन

२०७६ को पुसमा सीआईबीले काठमाडौं उपत्यकाभरि विशेष अपरेशन सञ्चालन गर्दै १२२ जना चिनियाँ नागरिक पक्राउ गरेको थियो। चिनियाँ दूतावासले दिएको विवरणमा अमलाका पति दावा छिरिङको नाम पासपोर्ट नम्बरसहित पठाइएको थियो। तर, राजनीतिक पहुँचका कारण उनी त्यसबेला पक्राउबाट उम्किएको प्रहरी अधिकारीहरूले जनाएका छन्।

दावा छिरिङले काभ्रेबाट नेपाली नागरिकता लिएको र माओवादी नेताहरूसँग निकटता राखेको प्रमाण पनि अनुसन्धानमा देखिएको छ।