काठमाडौं – काठमाडौंको नागार्जुन नगरपालिका प्रमुख मोहनबहादुर बस्नेत सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतको शुक्रबारको फैसलाले उनलाई दोषी ठहर गरेको हो ।
न्यायाधीशद्वय टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले बस्नेतलाई दोषी ठहर गरेपछि अब उनलाई सजाय तोक्ने प्रक्रिया सुरु हुने भएको छ । अदालतले सजाय निर्धारणका लागि आगामी असार १६ गते सुनुवाइको मिति तोकेको विशेष अदालतका सूचना अधिकारी यज्ञप्रसाद रेग्मीले जानकारी दिए ।
बस्नेतमाथि घरजग्गा व्यवसायी राजुप्रसाद कँडेलबाट घुसबापत रकम लिई त्यसलाई शुद्धीकरण गरेको अभियोग लागेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ पुस १४ गते विशेष अदालतमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।
यद्यपि, अख्तियारले दायर गरेको अर्को भ्रष्टाचारसम्बन्धी मुद्दामा भने बस्नेतले सफाइ पाएका छन् । अदालतले उनलाई सम्पत्ति शुद्धीकरणको मामिलामा मात्र दोषी ठहर गरेको हो ।










