images
images
images

जापानमा रहेको नेपाली राजदूतावास वडा कार्यालय जत्तिको पनि छैन : मन्त्री राणा

काठमाडौँ, ९ असार – परराष्ट्रमन्त्री आरजू राणा देउवाले विभिन्न देशमा रहेका नेपाली राजदूतावासको पुनर्संरचना गर्नुपर्ने अवस्था आएको बताएकी छन् । त्यसका लागि सरकारले लगानी गर्नुपर्ने पनि उनको भनाइ थियो ।

परराष्ट्र मन्त्रालयको विनियोजनमाथि उठेका प्रश्नको सोमबार प्रतिनिधिसभामा जवाफ दिने क्रममा मन्त्री राणाले जापानमा रहेको राजदूतावासको उदाहरण दिँदै नेपाल चिनाउने राजदूतावासहरूको पुनर्संरचना र स्थानान्तरण गर्नुपर्ने बताइन् ।

 

 

‘सबैले यहाँ दुःखसुखका कहानी भनेको भएर मलाई पनि दुःखको कहानी बाँड्न मन लाग्यो । हाम्रा राजदूतावासहरू वडा कार्यालयभन्दा राम्रो स्थितिमा छैनन् । यो एकदमै दुःखको कुरा हो,’ उनले भनिन्, ‘अस्ति जापानको दूतावासमा गएँ । पहिला पनि जान्थे, त्यो बेलामा आमाको छोरी भएर गएको थिए । यो पाली गएको त एकदमै डिप्रेस भएर आएँ । फाइलको चाङ कति छ भने मान्छे बस्ने ठाउँ पनि छैन । कुखुराको खोर भन्दा सानो राजदूतावास । ३ लाख ५० हजार नेपाली पुगिसक्यो, बस्ने ठाउँ पनि छैन । यो पालि हामीले सर्ने भनेका छौं ।’

जापानस्थित नेपालको राजदूतावास वडा कार्यालय जत्तिको पनि नरहेको मन्त्री राणाको भनाइ थियो । ‘मेरो क्षेत्रमा रहेको वडा नम्बर ४ (धनगढी उपमहानगरपालिका) वडा कार्यालय उद्घाटन गर्न बोलाएको थियो । त्यो वडा कार्यालय त एकदमै राम्रो थियो । तर त्यो राजदूतावास हेर्दा त विदेशमा नेपालीको बारेमा उनीहरूले हेर्ने चित्रण हो,’ उनले भनिन्, ‘यसपालि दिल्ली र बेइजिङको दूतावासलाई मर्मत गर्ने भनेर पैसा हालेका छौं ।’

मन्त्रालयलाई पर्याप्त बजेटको व्यवस्था नभएको पनि मन्त्री राणाको भनाइ थियो । कान्तिपुर