images
images

जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का प्रक्रियामा चलखेल भएको छैन : ऊर्जामन्त्री खड्का

काठमाडौँ, ९ असार – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का प्रक्रियामा चलखेल नगरेको बताएका छन् । सोमबारको प्रतिनिधिसभाको बैठकमा उनले अनलाइनको व्यवस्था भएको ठाउँमा मन्त्रालयले चलखेल कसरी गर्छ भन्दै प्रश्न गरे । चलखेल भए कारबाही हुने समेत उनले दाबी गरे ।

‘जगदुल्ला जलविद्युत् कम्पनीले नै सबै जिम्मेवारी र काम गर्ने भएका कारणले आवश्यकताभन्दा बाहिर गएर ऊर्जा मन्त्रालयले चासो चिन्ता, हस्तक्षेप गर्दैन, विभिन्न उजुरी आइसकेपछि हामीले चासो राखेका थियौँ,’ ऊर्जामन्त्री खड्काले भने ।

ठेक्का प्रक्रियामा ४ वटा कम्पनीले आवेदन दिएको र २ वटा कम्पनी पास भएको उनले सुनाए । दुई कम्पनीमध्ये कम बोलकबोल गर्नेले पाएको र प्रक्रियागत ठिक ढङ्गले भएको भन्ने कम्पनीले जानकारी दिएको उनले सुनाए । ‘नपाउने कम्पनीलहरुले रद्द भएको ठाउँमा आफूले पाउने आशय राखेको पाइन्छ, त्यो सम्भावना छैन, झन्झटिलो कम्पनीले विभिन्न ठाउँमा आफ्नो स्पष्टता पारिसकेको छ,’ उनले भने, ‘अनलाइनको व्यवस्था भएको ठाउँमा मन्त्रालयले चलखेल कसरी गर्छ ? चलखेल भए त कारबाही भइहाल्छ नि । सम्भव होला र ।’