काठमाडौं, १० असार – गृहमन्त्री रमेश लेखकले भिजिट भिसामा देखिएका सम्पूर्ण समस्याहरूको अध्ययन, विश्लेषण र छानबिन गरेर समाधान गरेर अल्पकालीन र दीर्घकालीन योजनाका साथ अगाडि बढ्ने गरी छानबिन समिति गठन गरिएको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद् बैठकले भिभिट भिसा प्रकरणको छानबिनका लागि गठन भएको शंकरदास बैरागी संयोजकत्वको समितिबारे जानकारी दिँदै यस्तो बताएका हुन् ।

उनले समिति गठनले सदनभित्र उठेका सबै भावनाहरू समेटिएको पनि बताए । लेखकले समितिले पेश गर्ने सुझाव प्रतिवेदनअनुसार सरकार अगाडि बढ्ने पनि प्रतिबद्धता जनाए ।
गृहमन्त्री लेखकले आफूले नै मन्त्रिपरिषद् बैठकमा छानबिन समिति गठनको प्रस्ताव गरेको पनि बताए । गत जेठ ३० गते प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले दुई बुँदे सहमति भए पछि संसद्को गतिरोध अन्त्य गरेको थियो ।
माओवादी केन्द्रसँग भएको सहमतिअनुसार नै सरकारले सोमबार पूर्वमुख्य सचिव बैरागीको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।

यस्ता थिए सहमतिका दुई बुँदा :
– भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । उक्त कार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्षमा पुर्याउने नै छ । उक्त विषयका सम्बन्धमा छानबिनका लागि आयोगले माग गरे बमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ ।
– अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानबिन गरी नीतिगत, कानूनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने ।









