images
images

मेडिकलमा गैरकानुनी धन्दा

इलाम :स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने औषधी बिक्री कक्षभित्र दैनिकजसो ‘गैरकानुनी धन्दा’ हुने गरेको इलाममा औषधि व्यवस्था विभाग र स्थानीय प्रशासनबाट गरिएको अनुगमनबाट खुलेको छ। पछिल्लोपटक इलाम बजारको दुर्गा मेडिकललाई सिल गरिएको छ।

औषधि व्यवस्था विभाग बिराटनगरका फार्मेसी निरीक्षक दीपेन्द्र खड्काको नेतृत्वमा आएको अनुगमन टोलीले शील गरेको हो। दुर्गा मेडिकललाई ७ दिनभित्र नियमअनुसार औषधि व्यवस्था विभागमा उपस्थित हुन निर्देशन दिँदै शील गरिएको हो।

त्यस्तै अनुगमनले इलाम अस्पताल नजिकैको आदर्श फार्मेसी तथा पोलिक्लिनिकबाट हेप्टा रेञ्ज नामको औषधि जफत गरेको छ। उक्त टोलीले चुलाचुली गाउँपालिका ४ को पाथिभरा औषधि पसललाई पनि शील गरेको छ। सम्बन्धित निकायबाट अनुमती नलिइ सञ्चालन गरेको पाइएपछि सिल गरेको हो। निरीक्षक खड्काले स्थानीय निकायमा मात्रै दर्ता गरेर टीकाराम घिमिरेले सञ्चालन गरेको उक्त पाथिभरा औषधि पसल सम्बन्धित निकायबाट अनुमति पत्रसमेत नलिइ सञ्चालन गरेकाले शील गरिएको बताए।

यस अघि जिल्ला प्रशासन कार्यालय इलामको नेतृत्वमा इलाममा सञ्चालित माईपोखरी डेण्टल र दुर्गा मेडिकल र सूर्योदय नगरपालिका १० को पार्वती मेडिकोलाई  दुई-दुई लाख जरिवाना गराइएको थियो। इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले कानुनले निषेध गरेको माल वस्तु आफ्नो पसल-फर्मबाट समयमै हटाउन अनुरोध गरे। अन्नपूर्ण पोस्ट