images
images

आगामी आर्थिक वर्षभित्रै दैलेखको मिथेन ग्यासको व्यवसायिक उत्पादन सुरू हुन्छ : प्रधानमन्त्री ओलीले

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मिथेन ग्यासको परीक्षण उत्पादनपछि आगामी आर्थिक वर्षभित्र व्यवसायिक उत्पादन भइसक्ने बताएका छन्।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

अहिलेको सरकारले सबै ठाउँमा आवश्यक बाटा घाटा र निर्माणमा ध्यान दिने उल्लेख गर्दै उनले राष्ट्रिय हितलाई ध्यानमा राखेर सबै विषयमा सरकारले आवश्यक र उचित काम गर्ने स्पष्ट गरे।

उनले भने, ‘राष्ट्रिय हितका सन्दर्भमा सजग रहेर विश्व शान्ति र न्यायका पक्षमा सदैव हामी छौँ। हाम्रो असंलग्न परराष्ट्र नीतिप्रति हामी प्रतिबद्ध छौँ। प्रविधि र पुँजी ल्याउँदा साम्राज्यवाद आउँछ भनिनु हुँदैन। हामीले साम्राज्यवाद नपस्ने गरी विदेशी पुँजीको लगानी गर्छौँ। कुनै पनि विकासका लागि लगानी र ऋण ल्याउँदा राष्ट्रको आवश्यकता र औचित्यताका आधारमा सम्झौता गरिनेछ तर यसमा सङ्कीर्ण सोचमा हामी हुन्नौँ।’

प्रधानमन्त्री ओलीले सरोकारवाला पक्षले आवाज उठाए पनि वन नउठाए पनि निजामती विधेयक र विद्यालय शिक्षा विधेयक तुरुन्तै ल्याउने विश्वास व्यक्त गरे। उनले दैलेखमा उत्खनन भएको मिथेन ग्यासको आगामी आर्थिक वर्षभित्र उत्पादन र सदुपयोग हुने गरी काम गरिने प्रतिबद्धता व्यक्त गरे।

‘हामीलाई छिटो र धेरै ठाउँमा विकास चाहिएको छ तर बजेट कम छ। त्यसकारण बजेटमा सबै सांसद् सन्तुष्ट हुन नसक्ने स्थिति हुन सक्छ। माग र आपूर्तिको असन्तुलन मिलाउन आगामी दिनमा ध्यान दिइनेछ’, प्रधानमन्त्री ओलीले भने, ‘हामीलाई लगानीको आवश्यकता रहेको छ। यसका लागि निजी क्षेत्र र वैदेशिक लगानी ल्याउनु परेको छ। लगानीको आवश्यकता विश्लेषण र योजनाका लागि लगानी बोर्डबाट प्रभावकारी काम गरिनेछ।’