images
images

उपप्रधानमन्त्री सिंहको दाबी-‘व्यवस्थित सहर बनाउन सहरी विकास मन्त्रालयले योजना बनाएको छ’

काठमाडौँ – उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सहरी विकास मन्त्रालयले घोषणा गरेका १२ सहरलाई व्यवस्थित बनाउन योजना बनाएको बताएका छन् ।

नेपाल प्रेस युनियन कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री सिंहले त्यसलाई कार्यान्वयन गर्नका लागि मन्त्रालयले जोड दिइरहेको बताएका हुन् ।

उनले यसै वर्ष सहरी विकास नीति पारित भएको समेत जानकारी दिए ।

उनले भने, “सहरी विकास नीति मन्त्रिपरिषदबाट पारित भइसकेपछि अब त्यसलाई संसदमा लैजान विधेयकको तयारी अन्तिम चरणमा पुगेको छ ।”

सहरी विकास ऐन आइसकेपछि सहरको व्यवस्थित रूपमा   विकास गरिने उनले बताए। राजनीतिक स्थायित्वका लागि नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संयुक्त सरकार बनेको उपप्रधानमन्त्री सिंहले उल्लेख गरे ।

कर्मचारीले गलत गरेकै आधारमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने विषय उपयुक्त नभएको उनले बताए । “अध्यागमनका कर्मचारीले गल्ती गरेकै कारण अख्तियारले छानबिन गरिरहेको छ । अख्तियारको छानबिन चलिरहेकै बेला सोझै गृहमन्त्री लेखकको राजीनामा मागेर सदन अवरुद्ध गर्नु ठिक होइन”, उनले भने ।