images
images

मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको चेतावनी: राम्रो काम नगरे जिम्मेवारी फेरिन्छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  मन्त्री र सचिवहरुलाई राम्रो काम नगरे जिम्मेवारी फेरबदल गर्ने चेतावनी दिएका छन् ।  बिहीबार सिंहदरबारमा उपप्रधानमन्त्री, मन्त्री सचिवहरु सहभागी कार्यक्रममा उनले मन्त्री र सचिवहरुलाई निर्देशन दिँदै विगतमा जस्तो यो वा त्यो बहानामा आफूलाई सुम्पिएको कार्यसम्पादन अनुरूपको कार्यमा ढिलाइ गर्ने छुट कसैलाई नभएको बताए ।

उनले अब कार्यसम्पादन सम्झौताका आधारमा मन्त्रीहरुको रिपोर्ट कार्ड बन्ने र सम्झौता अनुसार काम नभए मन्त्री, सचिव, विभाग तथा आयोजना प्रमुखको जिम्मेवारी फेरबदल गर्ने चेतावनी दिए । ‘कार्ययोजनामा उल्लेख भएअनुसार प्रगति हासिल गर्ने मन्त्री, सचिव, विभागीय तथा आयोजना प्रमुखलाई पुरस्कृत गर्ने र लक्ष्यअनुसार प्रगति हासिल नगर्नेलाई सोही अनुसार अभिलेख राखी जिम्मेवारी फेरबदल गर्नेतर्फ सरकारले आवश्यक कदम चाल्नेछ भन्ने कुरामा म सबैको ध्यानाकर्षण गर्न चाहन्छु’ प्रचण्डले भने ।

पहिलो मन्त्रिपरिषद्को बैंठकबाट सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमति पत्र लगायतका सेवाप्रवाहलाई सरल, पहुँचयोग्य र झन्झटमुक्त गराउने तथा विकाससम्वन्धी काममा तीव्रता दिने निर्णय भएको उनले स्मरण गरे ।