images
images
images

थाइल्याण्डमा बैंकको म्यानेजर भनेर ६२ लाख बढी ठगी, सुनसरीबाट १ जना पक्राउ

विराटनगर, १२ असार – आफूलाई थाइल्याण्डमा रहेको एसआईएएम कमर्सियल बैंकको मेनेजर बताएर ठूलो रकम ठगी गर्ने १ जनालाई प्रहरीले सुनसरीको कोशी गाउँपालिकाबाट पक्राउ गरेको छ ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले ६२ लाख बढी रकम ठगी गर्ने देवानगन्ज गाउँपालिका–१ का २० वर्षीय कुशेश्वर मेहतालाई पक्राउ गरिएको बताए । उनका अनुसार मेहतालाई कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट मंगलबार साँझ पक्राउ गरिएको हो ।

 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मेहताले ६२ लाख ७५ हजार २ सय रूपैयाँ ठगी गरेको खुलेको छ । भनिडा सुवान नामक सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरबाट आफ्नो नाम फुएङ्ग भनिडा बताउने व्यक्तिले सम्पर्क गरेर थाइल्याण्डको एसआईएएम कमर्सियल बैंकको मेनेजर हुँ भन्दै एलेन आरबी शाहीको नाममा रहेको बैंक खाता छ भन्ने देखाएर ठगी गरेको पाइएको छ ।

शाहीको नाममा बैंक खाता रहेको र उसको अपुताली सम्पत्ति खाने व्यक्ति कोही पनि नभएको तथा तपाईंको नाम एलेन आरबी शाहीको थरसँग मिल्दोजुल्दो भएकाले उनको खातामा रहेको रकम सबै ल्याउन सकिने भनेर कुर्मराज शाहीमाथि ठगी गरेको पाइएको प्रहरीले जनाएको छ । मेहताले झुटा विश्वास दिलाएर शाहीबाट विभिन्न मितिमा आफ्नो नाममा रहेको बैंक खातामा पटक–पटक गरी ६२ लाख ७५ हजार २ सय रूपैयाँ रकमान्तर गर्न लगाएको पाइएको डीएसपी खतिवडाले बताए ।

शाहीले दिएको जाहेरीका आधारमा मेहता पक्राउ परेका हुन् । उनी लामो समयदेखि फरार थिए । मेहतालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पठाइएको डीएसपी खतिवडाले बताए ।