images
images

विद्यादेवी भण्डारीको जिम्मेवारी सल्लाहले टुंगिन्छ : ईश्वर पोखरेल

काठमाडौं, १४ असार – नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा सक्रियता स्वाभाविक भएको बताउनुभएको छ।

शनिबार राजधानीमा आयोजित मदन भण्डारी स्मृति दिवस समारोहलाई सम्बोधन गर्दै पोखरेलले पूर्वराष्ट्रपति भण्डारी पार्टीकै प्रतिनिधित्वमा राष्ट्रपतिमा पुगेको स्मरण गर्दै राजनीतिक रूपमा सक्रिय हुन कसैले रोक्न नसक्ने बताउनुभयो।

उहाँले भन्नुभयो, “दललाई नै प्रतिनिधित्व गरेर राष्ट्रपतिमा जानुभयो। राजनीतिक मान्छे हो, राजनीतिमा रुचि हुन्छ। कुनै अनौठो कुरा होइन।”

पोखरेलका अनुसार भण्डारीले पार्टीमा कुन जिम्मेवारी लिने भन्ने विषय सल्लाह र समझदारीबाट टुंगिनेछ। “कुन जिम्मेवारी लिने भन्ने कुरा जे सल्लाह र समझदारी हुन्छ, त्यहीअनुसार हुन्छ,” उहाँले भन्नुभयो।

उहाँले भण्डारीको राजनीति प्रतिको रुचिलाई स्वाभाविक धर्मको रूपमा चित्रण गर्दै भन्नुभयो, “राजनीतिमा रुचि राख्नु उहाँको धर्म हो।”

पूर्वराष्ट्रपति भण्डारीले सोही कार्यक्रममा नेकपा (एमाले) परिवारमा पुनः सक्रिय रूपमा जोडिएको घोषणा गर्नुभयो ।