काठमाडौँ, १४ असार – लामो रस्साकस्सीपछि आइतबार प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विद्येयक पास भएको छ ।
यसअघि विवादमा आएको २ वर्षे कुलिङ पिरियडलाई यथावत राख्दै सो विद्येयक पारित भएको हो । प्रतिनिधिसभाबाट पारित विद्येयकमा कर्मचारीको अवकाश उमेर २ वर्ष बढाएर ६० वर्ष बनाईएको छ । यसअघि उमेरहद ५८ वर्ष तोकिएको थियो ।
विधेयक पारित हुनु अगाडिको छलफलमा बोल्दै सांसदहरूले कुलिङ पिरियडको प्रावधानले मुलुकमा सुशासन कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
प्रतिनिधि सभाबाट पारित विधेयकले हाल अभ्यासमा रहेका विभिन्न प्रावधानलाई पनि फेरेको छ । विधेयकअनुसार निजामती सेवामा उपसचिवसम्म मात्रै खुला प्रवेश रहने छ । सेवा प्रवेशका लागि अधिकतम उमेर पुरुषको हकमा ३५ र महिलाको हकमा ३९ वर्ष कायम हुनेछ ।
सरकारले अधिकृत तहको पदमा प्रवेश गर्न २१ वर्ष पूरा भएको हुनुपर्ने तर पुरुषको हकमा ३२ वर्ष ननाघेको र महिलाको हकमा ३७ वर्ष पूरा नभएको हुनुपर्ने प्रस्ताव गरेको थियो ।
मुख्यसचिव र सचिवको कार्यकाल पनि घटाइएको छ । हाल मुख्यसचिवको सेवा अवधि ३ वर्ष रहेको छ । विधेयकले घटाएर मुख्यसचिवको कार्यकाल २ वर्ष हुने बनाएको छ ।
सचिवको सेवा अवधि हाल ५ वर्ष हुने व्यवस्था छ । यसलाई बदलेर ४ वर्ष बनाइएको छ ।
तर, हाल पदमा बहल रहेका सचिव र मुख्यसचिवको हकमा घटाइएको कार्यकालको प्रावधान लागु हुने छैन । बहालवाला मुख्यसचिव र सचिवको कार्यकाल साविक अनुसारकै ३ वर्ष र ५ वर्ष कायम रहनेछ ।









