रोशी, १६ असार – काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाद्वारा अभिभावकहरुलाई हेरचाह गर्ने २४ सन्तानलाई श्रवणकुमार पुरस्कारद्वारा सम्मान गरेका छन् । आईतबार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा एक कायक्रमको आयोजना गरी हरेक वडाका २ जनाका दरले नगदसहित सम्मान गरेका हुन् ।

आफ्नो अभिभावक आमाबुवा, हजुरबा आमा तथा सासुससुरालाई सम्मानका साथ पाल्ने सन्तानलाई वडाको सिफारिसमा सम्मान गरेका हुन । सम्मानित हुनेहरुमा वडा नं. १ का समिक्षा थापा र जोगबहादुर स्यांतान, वडा नं.२ का कुमार थापा र कामी सिं लो, वडा नं. ३ का हर्क सिं घिसिङ र अञ्जली तामाङ, वडा नं. ४ का प्रेमबहादुर लामा जिम्बा र पुर्ण बहादुर थापा, वडा नं. ५ का मनिता मोक्तान र सोमान सिं लामा, वडा नं. ६ का रुपाकुमारी सारु शाही र अक्कल लामा, वडा नं. ७ का धनबहादुर तामाङ र तिर्थबहादुर तामाङ, वडा नं. ८ का मनमायाँ मगर र सानुराजा ज्यु ठकुरी, वडा नं. ९ का हरिमायाँ घलान र भोजकुमार शाही, वडा नं. १० का लिलाबहादुर कामी र सुनिता ज्यु ठकुरी, वडा नं. ११ का पञ्चमायाँ लामा र विरबहादुर मगर र वडा नं. १२ का सोनाम सिं गोङ्बा र ज्ञानबहादुर मोक्तान सम्मानित भएका हुन् । रोशी गाउँपालिकामा १२ वटा वडा रहेकोमा सबै वडाका २ जनाका दरले २४ जनालाई नगद ५ हजारसहित दोसल्ला र प्रमाणपत्रले श्रवणकुमार पुरस्कारद्वारा सम्मान गरेका थिए ।
सम्मान गर्दै गाउँपालिका अध्यक्ष लामाले आफ्नो अभिभावकहरुप्रति सन्तानको समामिप्यता, आत्मीयता, मातृत्व वातावरण निर्माण होस भन्ने हेतुले सम्मान गरेको बताए । ‘पछिल्लो समय ढोगी मान्छेहरु दुनियाँलाई देखाउनको लागि तिर्थ, व्रत र दान गरिरहेको देखिन्छ तर आफ्ना घरमा बुवाआमा, सासुसुराहरुको अवस्था हेर्यों भने ओछ्यानमा एक गिलास पानी दिने मान्छेसम्म हुदैन ।’ अध्यक्ष लामाले भने, ‘त्यसैले हाम्रो समाज त्यतातिर नजाओस, आफ्नो अभिभावकप्रतिको दायित्व पूरा गर्न तर्फ अभिप्रेसिरत होस भनेर हामीले सम्मान गरेका हौं ।’
सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले आफ्नो बुवाआमा अर्थात जेष्ठ नागरिकलाई मायाँ, हेरचाह र सम्मान गर्नुपर्ने बताए । आगामी दिनमा पनि यसरी नै जेष्ठ नागरिकलाई इज्जत र सम्मानकासाथ पाल्ने सन्तानलाई सम्मान गर्दै जाने उनको भनाई छ ।
प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाले स्वागत मन्तव्य राख्दै जेष्ठ नागरिकलाई इज्जत र सम्मानका साथ पालनपोषण गर्दै उहाँहरुको मार्गनिर्देशनलाई पछ्याएमा सहिबाटो अंगाल्न सकिने बताए ।
गाउँपालिकाका प्रवक्ता तथा वडा नं. १२ का वडाध्यक्ष वसन्तकुमार स्यांतानले जेष्ठ नागरिकलाई स्याहार, सुसार गर्नुको साटो उल्टै वेवास्था गर्दै गाएको बताए । आफ्नो अभिभावकलाई सम्मान दिन सकेमात्र आफु पनि सम्मानित हुने उनको भनाई छ ।
उत्कृष्ठ मेलमिलाप केन्द्र सम्मानित

रोशी गाउँपालिका भित्रका उत्कृष्ठ मेलमिलाप केन्द्रलाई नगदसहित सम्मानपत्रले सम्मान गरेका छन् । कार्यसम्पादनको आधारमा उत्कृष्ठ रोशी गाउँपालिका वडा नं. ४ र ६ का मेलमिलाप केन्द्र प्रथम, वडा नं. ७, ८ र १० का मेलमिलाप केन्द्र देस्रो र वडा नं. ३ र ११ का मेलमिलाप केन्द्र तेस्रो भएका थिए ।
ती प्रथम, द्वितीय र तृतीय हुने मेलमिलाप केन्द्रलाई नगद क्रमशः ७ हजार ५ सय, ३ हजार ३ सय र २ हजार ५ सय नगदसहित प्रमाणपत्रले सम्मान गरेका हुन् ।









