images
images

विवाह खुसिको प्रारम्भ हो, बोझको होईन – बदलिँदो समाज र युवाको यथार्थ

कुमार अर्याल

समय परिवर्तनशील छ। समयसँगै सोच, संस्कार र व्यवहार पनि परिवर्तन हुँदै जानु स्वाभाविक हो। तर, यदि हामी बदलिँदो समयसँग तालमेल मिलाउन असफल भयौं भने, हामी आफैं पछाडि परिरहेका हुन्छौं। यस्तै एउटा विषय हो — विवाह, जुन नेपाली समाजमा परम्परागत रूपमा “सामाजिक प्रतिष्ठा” को सूचक मानिँदै आएको छ। तर के अहिले पनि यही सोच उपयुक्त छ?

आजको समाजमा शिक्षा र स्वास्थ्यजस्ता अत्यावश्यक क्षेत्रमा राज्यको सेवा असफल हुँदै गएकाले नागरिकलाई निजी क्षेत्रमा भर पर्न बाध्य बनाएको छ। सरकारी विद्यालय र अस्पतालहरू केही अपवाद बाहेक अधिकांशमा न्यूनतम गुणस्तरसमेत पाउन गाह्रो छ। यसले मध्यम वर्गीय र निम्न आय भएका परिवारहरूलाई शिक्षा तथा स्वास्थ्यमा अत्यधिक खर्च गर्न बाध्य बनाएको छ।

यही आर्थिक दबाबबीच एक अर्को ठूलो बोझ थपिन्छ — विवाह।

 

परम्परा कि प्रदर्शन?

नेपालमा विवाह केवल दुई आत्माको मिलन होइन, धेरैजसो अवस्थामा “सामाजिक प्रतिस्पर्धा” को माध्यम बनेको छ। विवाहका नाममा ८/१० तोला सुन, भव्य भोज, महँगा लुगा, सवारी साधनदेखि लिएर सजावटसम्म — यी सबैमा लाखौं खर्च गर्ने परम्परा जस्तै बनिसकेको छ।

तर सबैको आर्थिक अवस्था एउटै हुँदैन। पैसा नभए पनि समाजको दबाबमा परेर विवाह गर्नुपर्ने हुँदा धेरै युवाहरू र परिवारहरू ऋणमा डुबिरहेका छन्। हिजो आफ्नै देशमा बसेर केही गरौं भन्ने सोच भएका युवाहरू विवाहपछिको ऋणको भारीका कारण विदेशिन बाध्य छन्।

 

जब विवाह ऋणको कारण बन्छ

आजको वास्तविकता यही हो — विवाह जस्तो पवित्र संस्था अनावश्यक खर्च र समाजको देखावटी मानसिकताका कारण आर्थिक समस्याको जड बन्दै गएको छ। परिणामस्वरूप, युवाहरू देशभित्र रहनुभन्दा वैदेशिक रोजगारीलाई रोज्न थालेका छन्। यो केवल व्यक्तिगत समस्यामात्र होइन, देशको जनसांख्यिक र सामाजिक संरचनाका लागि खतरा हो।

एकातर्फ बेरोजगारी, अर्कोतर्फ अत्यधिक खर्चिलो विवाह। यो दोहोरो मारले गर्दा आज नेपाली समाजमा वैवाहिक जीवन सुरुवातको खुसी होइन, संकटको थालनी बन्न थालेको छ।

 

विकल्प: विवाह होइन, व्यवसायमा लगानी

कल्पना गरौं — यदि हामी विवाहमा खर्च गर्ने ५ लाख, १० लाख रुपैयाँ सीप आधारित व्यवसायमा लगानी गर्यौं भने?

शुरुमा यस्तो कल्पना गर्न कठिन लाग्न सक्छ, किनभने समाज सधैं भिडकै पछि दौडिन्छ। तर परिवर्तन सधैं एक/दुई व्यक्तिबाटै सुरु हुन्छ।

“कम खर्चिलो, अर्थपूर्ण र विवेकसम्मत विवाह” संस्कार बन्यो भने— न केवल व्यक्तिगत जीवन सहज हुन्छ, बरु सामाजिक र आर्थिक दृष्टिले पनि मुलुकलाई फाइदा पुग्छ। एउटा युवा नेपालमै सीप र व्यवसायमा लाग्न सक्यो भने, उनीसँगै अन्य सदस्यहरूलाई पनि देशमै रोजगारीको सम्भावना बढ्छ।

 

निष्कर्ष

विवाह खुसीको प्रारम्भ हो, बोझको होइन। अब समय आएको छ— अनावश्यक खर्च कम गर्ने, सीप र व्यवसायमा लगानी गर्ने सोच बनाउने।

सस्तो, मर्यादित, आत्मीय र सम्मानजनक विवाहलाई नयाँ सामाजिक संस्कारको रूपमा स्थापना गर्न हामी सबैले सशक्त पहल गर्न जरुरी छ। खर्चिलो विवाहको विकल्प खोजौं — आर्थिक स्वतन्त्रता र पारिवारिक स्थायित्वको मार्ग निर्माण गरौं।

“परिवर्तन सधैं असहज लाग्छ। तर असहज कुराबाटै नयाँ सम्भावना जन्मिन्छ।”

– धन्यवाद।