काठमाडौँ – विद्यालय शिक्षा विधेयक पारित गर्ने विषयमा संसदको शिक्षा तथा स्वास्थ्य समितिमा लफडा भएको छ।
सोमबार विधेयक पारित गर्ने कि नगर्ने भन्ने विषयमा विवाद भएको हो। शिक्षा मन्त्री रघुजी पन्तले विधेयकका केही विषयमा सरकार अझै प्रष्ट हुन बाँकी रहेकाले सोमबार बैठक स्थगित गर्न आग्रह गरे पनि समितिका सदस्यहरुले अस्वीकार गरेका छन्।
कांग्रेस सभापित शेरबहादुर देउवासँग भेटेर फर्किएपछि शिक्षा मन्त्री पन्तले बैठक स्थगित गरेर थप छलफलको समय माग गरेका हुन्। पदपूर्तिमा आन्तरिक ६० प्रतिशत र खुलातर्फ ४० प्रतिशत राख्ने पूर्व सहमतिबाट सरकार पछि हट्न खोजेपछि समितिका सदस्यहरुले आपत्ति जनाएका हुन्।
समितिका सभापति अम्बरबहादुर थापाले बिहान भएको सहमति विपरीत सरकार जान लागेको भन्दै आपत्ति जनाए। पढाउनै नसक्नेलाई देशको हितविपरीत जान नसकिने बताए।
शिक्षामन्त्री पन्तले बिहान भएको सहमतिलाई उल्ट्याएर आन्तरिकतर्फ ७५ प्रतिशत र खुलाका लागि २५ प्रतिशत मात्रै हुनुपर्ने प्रस्ताव गरेका छन्। त्यसलाई समितिले अस्वीकार गरेको छ।











