काठमाडौं, १७ असार – सांसदलाई झुक्काएर कुलिङ पिरियड घुसाउने राज्य ब्यवस्था सभापति रामहरि खतिवडालाई कारबाही गर्नु पर्ने माग उठेको छ। राज्य ब्यवस्था समितिमा रोकिएको ‘कुलिङ पिरियड’ संसदमा प्रतिबेदन लैजाँदा सभापति खतिवडाले घुसाएर पठाएको भन्दै कारबाहीको माग गरिएको हो।
नेकपा एमालेका सांसद सुर्य थापाले खतिवडालाई कारबाही गर्नु पर्ने माग गरेका हुन्। ‘समितिको प्रतिवेदनमै नरहेको ‘बाहेक’ शब्द छलछाम गरी घुसाउने को हो? भन्दै थापाले भनेका छन्, ‘राज्य व्यवस्था तथा सुशासन समितिका सभापति र सचिवले जिम्मेवारी लिनुपर्छ, यदि यस्तो गरेको तथ्य हो भने यो अत्यन्त गैरजिम्मेवार र जवाफदेहिताबिहीन कार्य क्षमायोग्य हुन सक्दैन।’
उनले अगाडि भनेका छन्, ‘कानुन निर्माणमा विधि र प्रक्रियाविपरितको कुशासन नै हावी देखियो, सार्वभौम संसद र जननिर्वाचित सांसदहरूले छलफल र पारित गरेको कानुनमा कसले के कैफियत गर्यो? यो गंभीर विषयय भएको छ।’
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सांसदलाई झुक्काएर ‘कुलिङ पिरियड’ घुसाउने राज्य ब्यवस्था सभापति रामहरि खतिवडाले राजीनामा दिनु पर्ने बताएका छन्।
राज्य ब्यवस्था समितिमा रोकिएको ‘कुलिङ पिरियड’ संसदमा सो बिधेयक प्रतिबेदन लैजाँदा सभापति खतिवडाले घुसाएर पठाएर पाससमेत गराएको भन्दै सांसद झाले राजीनामा माग गरेका हुन्।
‘राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाज्यु, निजामती बिधेयकमा, तपाईंले संघीय सदनको रोस्टमबाट टेवल गरेको भन्दा फरक कुरा कसरी आयो?’ झाले प्रश्न गर्दै भनेका छन् कि, ‘कि यो सुधार्नुस्, कि आफूले गरेको नालायकीपन स्वीकार गरेर समितिबाट राजीनामा दिनुस्।’
उनले सो बिधेयक पारित गराउने सत्तारूढ र प्रतिपक्ष दलका सांसदहरूलाई पनि सामाजिक सञ्जालवाट ब्यंग्य गरेका छन्, ‘र, पढ्दै नपढेर ‘हुन्छ’ र ‘हुँदैन’ भन्ने (सांसद) हरूलाई ‘कुरी कुरी’।’
रास्वपाले भिजिट भिषा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरिरहेको बेला अब राज्य ब्यवस्था सुशासन समितिका सभापति खतिवडाको राजीनामा माग गर्ने तयारी गरेको बुझिएको छ।
निजामती सेवा बिधेयकमा ‘कुलिङ पिरियड’ नराख्ने सहमति समितिमा भए पनि संसदमा पुगेकाे बिधेयकमा भने ‘कुलिङ पिरियड’ राखेर पारित भएकाे रहस्य खुले पछि यतिखेर खतिवडाकाे आलाेचना भइरहेकाे छ ।









