images
images

मुख्यसचिव, सचिव र सहसचिवलाई कुलिङ पिरियड लागू नहुने गम्भीर षड्यन्त्र गरियो: पदम गिरी

काठमाडौं, १७ असार – सत्तारूढ नेकपा (एमाले) का सांसद पदम गिरीले प्रतिनिधि सभाबाट पारित भएको निजामती विधेयकमा कर्मचारीका लागि लागू गरिने कुलिङ पिरियडमा हेरफेर गर्नेमाथि कारबाही गरिनुपर्ने बताएका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती विधेयकबारे लामो समय छलफल भएको र कुलिङ पिरियड कति समय राख्ने भन्नेमा पनि धेरै छलफल गरेर दुई वर्ष राख्नेमा सहमति जुटेको उल्लेख गर्दै उनले प्रतिनिधि सभाबाट पारित गर्ने क्रममा विधेयकमा बाहेक भन्ने शब्द राखिएकोमा आपत्ति जनाएका हुन्।

‘कुलिङ पिरियडबारे महिनौं छलफल गरी २ वर्ष राख्न सहमति जुटेको थियो। तर मुख्यसचिव, सचिव र सहसचिवलाई यो कुरा लागू नहुने गरी गम्भीर षड्यन्त्र गरिएको छ, यो कारबाहीको विषय हो,’ मंगलबार सभामुख देवराज घिमिरेलाई भेटेर ध्यानाकर्षण गराएपछि उनले भने, ‘दुई वर्ष कुलिङ पिरियड राख्ने समितिमा निष्कर्षमा पुगेपछि त्यो जस्ताको तस्तै अघि बढाउनुपर्थ्यो। यसमा हेरफेर गर्ने जिम्मेवार व्यक्तिमाथि कारबाही हुनुपर्छ।’