काठमाडौँ, १८ असार – नेकपा एमाले सांसद एकनाथ ढकालले नेपालले धार्मिक पर्यटकलाई विशेष प्राथमिकता दिएर अघि बढ्न जरुरी रहेको बताएका छन् । बुधवारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै ढकालले अहिले भइरहेको चुनौतीहरू समाधान गर्ने गरी पर्यटन प्रवर्द्धनमा लाग्न जरुरी रहेको बताएका हुन् ।
विमानस्थलबाट बौद्ध धर्मावलम्बी पर्यटकहरूलाई छुट्टै काउन्टर निर्माण गरी फास्ट ट्रयाकमा आउन दिनुपर्ने उनको भनाई छ । उनले विमानस्थलदेखि नै पर्यटकमैत्री वातावरण निर्माण गर्न जरुरी रहेको बताए ।
उनले भने, ‘हाम्रो भगवान् गौतम बुद्ध जन्मेको देश नेपाल, हामी जहिले पनि भन्छौँ । सगरमाथा भएको देश नेपाल । एयरपोर्टमा एउटा काउन्टरबाट फास्ट ट्रयाकमा आउन दिनलाई के हुन्छ ? सबै बौद्धमार्गी देशमा फास्ट ट्रयाकमा आउन दिन्छन् । उनीहरूलाई सम्मानको रुपमा दिएको हुन्छ । मैले बोले पनि त्यो हुन सकेको छैन । एयरपोर्टबाट नै पर्यटकमैत्री वातावरण सिर्जना गर्नुपर्छ । देशमा पर्यटनमैत्री वातावरणको निर्माण गर्नुपर्छ । नेपालको सन्दर्भमा हामीले धार्मिक पर्यटकलाई नै प्राथमिकता दिनुपर्छ ।’










