काठमाडौँ, १९ असार – नेपाली काँग्रेसका सांसद तथा नेपालका एक मात्रै डलर अर्बपति विनोद चौधरीले बैंक तथा वित्तीय संस्थाहरुलाई विदेशमा शाखा खोल्न दिनुपर्ने बताएका छन् । बिहीवार बसेको अर्थ समितिको बैठकमा बाफिया विधेयकमा भएको दफाबार छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।
उनले बाफियालाई पुनःलेखन गरेर विदेशमा शाखा खोल्न पाउने सम्बन्धि व्यवस्था राखिनुपर्ने उनको भनाइ छ । उनकाअनुसार नेपाली धेरै भन्दा धेरै रहेका ती ठाउँमा बैंकका शाखा खोल्न दिनुपर्छ । ‘बाफिया ड्राफ्ट दुई वर्षदेखि बनाएर राखिएको छ । अहिले धेरै परिवर्तन भइसकेको छ । बाफिया फिर्ता पठाउनुपर्छ । नयाँ दृष्टिकोणबाट यो विधेयकलाई पुनःड्राफ्ट गर्नुपर्छ । नेपालका बैंकलाई बाहिर समेत जान दिनुपर्छ । अस्टेलिया, मलेसियामा बैंकका शाखा खोल्न दिनुपर्छ । नेपालीको पुँजी नेपाली बैंकले किन संकलन गर्न नपाउनु ?,’ उनले भने ।










