रोल्पा– रोल्पाको थबाङ गाउँपालिकाले आफ्ना सात जना कर्मचारीहरू असार २४ गते बिहानदेखि सम्पर्कविहीन रहेका जनाएको छ।
नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि असार २४ गते बेलुका ९ बजे पालिकाका प्रमुख प्रशासकीय अधिकृत OTP कोड प्राप्त गर्न रुकुम पूर्व गएको र त्यसपछि कार्यालयसँग सम्पर्क हुन नसकेको जनाइएको छ।
गाउँपालिकाले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरसहित सात जना कर्मचारी असार २४ गते बिहान ७ बजेदेखि सम्पर्कमा नरहेको र खोजी गर्दा रुकुम पूर्वमासमेत नभेटिएको जानकारी दिएको छ।
विज्ञप्तिमा भनिएको छ, “कार्यालयको तर्फबाट सम्पर्क गर्दा सबैको मोबाइल अफ रहेको हुँदा कार्यपालिकाको कामकाजमा समस्या भएको छ। यथासिघ्र सम्पर्कमा आउनुहुन र जानकारी पाउनु भएका महानुभावहरूले यस पालिकालाई जानकारी गराउनहुन अनुरोध गर्दछौं।”
सम्पर्कविहीन कर्मचारीहरूका नामावली:
१. हेमराज घर्तीमगर – प्रमुख प्रशासकीय अधिकृत
२. हरिश माझी – सहायक प्रशासन पाँचौँ
३. यज्ञ प्रसाद कँडेल – सब-लेखापाल
४. चन्द्र प्रकाश ओली – सब-इन्जिनियर
५. निशा आचार्य – सब-इन्जिनियर
६. शिव कुमार वली – खा.पा.स.टे
७. प्रदिप के.सी. – सवारी चालक
गाउँपालिकाका अध्यक्ष ऋषिकेश बुढा मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा सम्बन्धित व्यक्तिहरूले शीघ्र सम्पर्क गर्न र आम सर्वसाधारणलाई जानकारी भएमा पालिकालाई सूचित गर्न अनुरोध गरिएको छ।










