images
images

मधेसमा बजेट विवाद टुंगो लगाउन सभामुखको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

जनकपुर, २६ असार – मधेस सरकारको बजेट विवाद टुंगो लगाउन ६ सदस्यीय कार्यदल गठन गरिएको छ ।  मधेस प्रदेशसभाको आज बसेको बैठकले सभामुख रामचन्द्र मण्डलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको हो ।

आर्थिक वर्ष ०८२ र ०८३ को बजेटमा बिचौलिया हाबी भएको भन्दै प्रदेश सभामा दिनहुँ प्रदर्शन भइरहेको छ । बजेट पुनर्लेखनको माग गर्दै सदनमा विरोध हुन थालेपछि प्रदेशसभा कार्यालयले विवाद सुल्झाउन सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरू रहने गरी कार्यदल गठन गरेको हो ।

कार्यदलको सदस्यहरूमा प्रदेश सांसदहरू रामअशिष यादव, जवाहरलाल कुशवाहा, कनिश पटेल, सरोज यादव र कृष्णा यादव रहेका छन् ।  बिहीबार बिहान सत्तारुढ र प्रतिपक्षी दलबिच कार्यदलले सदनमा उठेका विषयबारे अध्ययन गरेर निर्क्योल निकाल्ने सहमति भएको थियो ।

मुख्यमन्त्री सतिस सिंहले सदनमा बोल्दै बिहान भएको सर्वदलीय सहमतिअनुसार कार्यदल गठन गरिएको बताए ।  यद्यपि जसपा नेपालका सांसद रामअशिष यादवले भने भौतिकमन्त्री सरोज यादवलाई लक्षित गर्दै सरकारको प्रतिनिधि कार्यदलमा नराख्न आग्रह गरेका थिए ।

त्यसलगत्तै मुख्यमन्त्री सिंहले बिहान भएको सहमतिअनुसार एमाले सांसद सरोज यादवलाई कार्यदलमा राखिएको प्रस्ट पारेका थिए । तर जसपा नेपालका सांसद यादवले त्यसमा समर्थन नजनाएपछि सदन १० मिनेटका लागि स्थगन गरिएको थियो ।