images
images

अहिले एमालेको नेता भन्दा ठिक हुन्छ, अब अध्यक्ष बनेर नेतृत्व गर्छुः विद्यादेवी भण्डारी

काठमाडाैं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई अहिले नेकपा एमालेको नेता भन्न मिल्ने बताएकी छन् ।

पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नविकरण गरेपछि चाैतर्फी चर्चा चलिरहेको छ । यस्तोमा उनले पत्रकार जगदिश खरेललाई दिएको अन्तरवार्तामा खुलेर आफ्नो लक्ष एमालेको आगामी नेतृत्व लिने बताएकी छन् ।

पार्टी अध्यक्ष बन्ने प्रष्ट रुपमा भनेकी भण्डारीले अध्यक्ष केपी ओली दुई कार्यकाल अध्यक्ष भइसकेकाले उनी दोहोरिएर नेतृत्वमा नआउने विश्वास व्यक्त गरिन्। ‘मैले चिनेको केपी ओली त्यस्तो होइन,’ उनले भनिन्।

‘व्यक्तिगत पदलोलुपता वा महत्त्वाकाङ्क्षा होइन, राष्ट्रिय आवश्यकताका विषयमा सक्रिय हुन खोजेकी हुँ,’ भण्डारीले भनिन्।

राजनीतिमा फर्किँदै गर्दा भण्डारीले आफ्नो प्राथमिकतामा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरण, उद्योग, कृषि, रोजगारीका माध्यमबाट अर्थतन्त्रको सबलीकरण, शिक्षा तथा स्वास्थ्यको गुणस्तर वृद्धि र जलवायु परिवर्तनजस्ता विश्वव्यापी चुनौतीसहितका विषय रहेको उल्लेख गरिन्।

कार्यक्रममा ‘यो सबै गर्नका लागि तपाईँलाई एमालेको अध्यक्ष बन्नुपर्छ भन्ने हो ?’ भनेर सोधिएको प्रश्नमा उनले ‘हो’ भन्ने स्पष्ट जवाफ दिइन्।

पार्टीभित्र विगतमा देखिएको विभाजन र गुटबन्दी स्वीकार गर्दै उनले त्यसलाई अब समाधान गरी एमालेलाई थप सुदृढ बनाउने अठोट व्यक्त गरिन्।