images
images
images

कैलाश मानसरोवर जाने वैकल्पिक रुटः कोरला नाकाबाट सहजै कैलाश

पोखरा, २६ असार – बाढीले क्षतिविक्षत पारेपछि रसुवागढी नाकाबाट चीनको तिब्बततर्फ जाने मार्ग बन्द हुँदा त्यसको असर धार्मिक पर्यटनमा पनि परेको छ। नाकाबाट चीनको तिब्बततर्फ जाने मुख्य मार्ग अवरुद्ध हुँदा कैलाश मानसरोवर परिक्रमाका लागि जानेगरि नेपाल आईसकेका भारतीय पर्यटक प्रभावित भएको व्यावसायीले बताएका छन।

कैलाश मानसरोवर परिक्रमा सकेर फर्केका पर्यटकले काठमाडौंसम्म आउनै सकस खेपेको तथा तिब्बततर्फ जाने तयारीका साथ भित्रिएका भारतीय पर्यटक अहिले काठमाडौंमै रोकिएको व्यावसायीले बताए। कैलाशको तीर्थयात्रा सकेर फर्किदै गरेका भारतीय तीर्थयात्री तातोपानी नाकाबाट नेपाल फर्केको भएपनि कैलाश मानसरोवर जाने पाहुनाहरु यात्राकै क्रममा काठमाडौं आएपछि रोकिएको उनीहरुको भनाई छ।

व्यावसायीका अनुसार कैलाश मानसरोवर जानेगरि चीन सरकारले रसुवा–केरुङ नाका खुला गरेपनि बाढीले नेपाल र चीनबीचको प्रमुख नाका अवरुद्ध भएपछि मानसरोवरको यात्रा सकेर फर्केका पर्यटक बीचमै अलपत्र परेका थिए। ‘परिक्रमा सकेर फर्केका पनि अप्ठेरोमा फँसेका छन। कैलाश मानसरोवर जानका लागि आएका भारतीय पर्यटक अहिले काठमाडौंमै रोकिएका छन,’ पर्यटन व्यावसायी ओमप्रकाश पाण्डेले भने, ‘अरु भारतीय पर्यटक पनि कैलाश मानसरोवर जानेगरि आउँदैछन। तर, उनीहरुको यात्राको चाँजोपाँजो मिलाउन सहज छैन। आउने तयारीमा रहेका पर्यटक पनि के र कसो गर्ने भन्ने अन्योलमा छन।’

पाण्डेका अनुसार आफ्नो कम्पनिमार्फत कैलाश मानसरोवर जान आएका ८३ जना भारतीय पर्यटक काठमाडौंमै रोकिएका छन। ‘कैलाश मानसरोवर जाने भनेर आएका ८३ जना भारतीय तीर्थयात्री अहिले काठमाडौंमा रोकिएका छन। अरु पनि आउने तयारीमा छन। तर, जाने बाटो छैन। रसुवा हुँदै तिब्बत गएका भारतीयलाई फर्किन पनि सकस छ,’ उनले भने। व्यावसायीका अनुसार कैलाश मानसरोवरबाट फर्किदै गरेका पर्यटकलाई वैकल्पिक मार्गको रुपमा तातोपानी नाका हुँदै फर्काइएको छ। त्यो बाटो पनि सहज नहुँदा पर्यटन प्रभावित भएको पाण्डेले बताए।

पाण्डेका अनुसार रसुवा–केरुङ नाका अवरुद्ध भएपछि कैलाश मानसरोवर जाने तयारीका साथ भित्रिएका पर्यटकलाई कुन बाटोबाट गन्तव्यसम्म पुर्याउने भन्ने दोधार भएको छ। उनका अनुसार काठमाडौं आईसकेका पर्यटकलाई नेपालगञ्ज–हुम्ला हुँदै पठाउन सकिने विकल्प भएपनि पर्यटकका लागि त्यो मार्ग महंगो पर्छ। पर्यटकलाई काठमाडौंबाट नेपालगञ्जसम्म जहाजमा तथा नेपालगञ्जबाट हुम्लाको सीमकोटसम्म पुन अर्को जहाजमा जानुपर्ने हुन्छ। सीमकोटबाट हेलिकप्टरमार्फत हिल्सा हुँदै तीब्बतसम्म पुग्दा एकजना पर्यटकले झन्डै एकलाख रुपैयाँ अतिरिक्त आर्थिक भार खेप्नुपर्छ।

रसुवा हुँदै आउजाउ गर्दा कम्तिमा पनि एकलाख रुपैयाँ सस्तो पर्ने भन्दै भारतीय पर्यटकहरु काठमाडौंसम्म जहाजमा आएर रसुवा हुँदै जाने गरेका थिए। तर, अहिले त्यो बाटो नभएको अवस्थामा वैकल्पिक मार्ग पनि महंगो पर्न जाने उनले बताए। यो सिजनमा कतिपय भारतीय तीर्थयात्री नेपालगञ्जबाट हुम्ला हँदै कैलाश मानसरोवर जान्छन।

‘हाम्रो कम्पनिले यो सिजनमा कम्तिमा एकहजार भारतीय पर्यटकलाई कैलाश मानसरोवर दर्शन गराउने लक्ष्य राखेको छ। बुकिङ पनि निकै नै राम्रो आएको छ। तर, आउजाउ गर्ने बाटो नै भएन। हुम्ला हुँदै आउजाउ गर्न पनि सहज छैन,’ उनले भने, ‘बाढी पहिरोले आउजाउमा सकस बनाउँदा पर्यटन क्षेत्रले पनि नोक्सानी खेप्नुपर्ने अवस्था आएको छ।’

पर्यटन क्षेत्रका जानकारहरुका अनुसार यो समय कैलाश मानसरोवर जाने उपयुक्त हो। तर, अहिले आउजाउ सहज छैन। कतिपय पर्यटन व्यावसायीले रसुवा हुँदै आउजाउ रोकिएको यो बेला मुस्ताङको कोरला नाका हुँदै पर्यटकलाई आउजाउ गराउन सक्ने हो भने त्यसले गण्डकी प्रदेशको पर्यटनमा सकारात्मक प्रभाव पार्ने पनि बताउँछन। रसुवाको मार्ग रोकिएको बेला मुस्ताङको कोरला नाका हुँदै पर्यटकलाई आउजाउ गराउन सक्ने हो भने गण्डकीको पर्यटन क्षेत्रले लाभ पाउने पनि उनीहरुको भनाई छ।

‘कोरला नाका हुँदै भारतीय पर्यटकलाई यो बेला कैलाश मानसरोवर पुर्याउने गरि पहल आवश्यक छ,’ होटल संघका केन्द्रीय सदस्य भरत पराजुली भन्छन, ‘कोरला नाकाबारे सरकार सुस्ताएको छ। रसुवा नाका क्षतविक्षत बनाएर कैलाश मानसरोवर आउजाउ प्रभावित भएको यो बेलामा छोटो र सहज आउजाउका लागि कोरला नाका प्रयोग गर्न सक्ने हो भने त्यसले पर्यटनमा लाभ दिन्छ।’

उनका अनुसार कोरला नाका हुँदै तत्कालै आउजाउ गर्न सकिने अवस्था रहेपनि केही प्राविधिक समस्या रहेकाले ती समस्यालाई संघीय सरकारले सम्बोधन गर्न सक्ने हो भने रसुवा हुँदै तिब्बत जाने तयारीमा रहेका पर्यटकलाई कोरला हँुँदै पठाउन सकिने उनले बताए। ‘अप्ठेरो परेको बेला केही तदारुकता देखाउन सक्नुपर्छ। कोराला नाका हुँदै आउजाउ गर्दा पर्यटकले केही बढी शुल्क तिर्नुपर्ने हुन्छ। तर, त्यसलाई संघीय सरकारले सहजीकरण गर्न सक्छ,’ उनले भने।

पर्यटन व्यावसायीका अनुसार कोरला नाका हुँदै आउजाउ गर्दा विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० को प्रवेश शुल्क, पदयात्री सूचना व्यवस्थापन प्रणालि ९टिम्स० र उपल्लो मुस्ताङ क्षेत्रमा पर्ने भएकोले अर्ध निषेधित क्षेत्रमा प्रवेश गर्दा तिर्नुपर्ने शुल्कको भार पर्यटकमाथि पर्छ। उपल्लो मुस्ताङको उक्त क्षेत्रमा जाँदा विदेशी पर्यटकले अतिरिक्त एकसाताको ५ सय अमेरिकी डलर, टिम्सबापत प्रतिव्यक्ति २ सय एक्यापको प्रवेश शुल्क प्रति व्यक्ति ३ हजार रुपैयाँ तिर्नुपर्छ।

नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने पनि कोरला नाका हुँदै आउजाउ गर्न सकिने भएपनि नेपालतर्फ केही शुल्क पर्यटकले अतिरिक्त तिर्नुपर्ने हुँदा त्यो शुल्क तिर्न तयार भएको अवस्थामा पर्यटकलाई कोरला नाका हुँदै कैलाश मानसरोवर पुर्याउन सकिने बताउँछन। उनका अनुसार कोरला नाका हुँदै आउजाउ गराउँदा पर्यटकले कम्तिमा पनि ७० हजार रुपैयाँ अतिरिक्त शुल्क माथिल्लो मुस्ताङसम्मको पहुँचका लागि तिर्न तयार हुनुपर्छ। त्यसबाहेक चीन र नेपालबीचको नाका पनि खुल्नुपर्छ।

‘गण्डकी प्रदेश सरकारका लागि कोरला नाका चलायमान बनाउने यो उपयुक्त अवसर हो। तातोपानी र रसुवागढीको वैकल्पिक मार्ग कोरला बन्न सक्छ। तर, सरकारले बेलैमा सहजीकरण गर्नुपर्छ,’ लामिछानेले भने, ‘यो अवसरलाई उपयोग गर्न सकियो भने कोरला नाकासँगै मुक्तिनाथको पनि प्रवर्द्धन गर्न सकिन्छ। कोरला नाकालाई कैलाश मानसरोवर मार्गको रुपमा पहिचान स्थापित बनाउन सकिन्छ। तर, सरकारले यो कदममा तदारुकता देखाउनुपर्छ।’

उपल्लो मुस्ताङको प्रतिबन्धित प्रावधानले मात्र केही अप्ठेरो भएपनि कैलाश मानसरोवरसम्मको पहुँचका लागि भने उपयुक्त हुनसक्ने उनले बताए।

पोखरा पर्यटन परिषद् ९पिटिसी०का पूर्व अध्यक्ष गोपि भट्टराईका अनुसार मुस्ताङका पर्यटन व्यावसायीले कोरला नाका हँुदै पर्यटकलाई कैलाश मानसरोवर पुर्याउन सकिने भएकोले बारम्बार नाका सहजीकरणको माग पनि गर्दै आएका छन। ‘यो बेला कोरला नाका खुलाएर चलायमान बनाउन सक्ने हो भने कैलाश परिक्रमा गर्न जाने पर्यटकलाई सहज हुनेछ। यसले गण्डकी प्रदेशमा पर्यटनको सम्भावना पनि बढाउँछ,’ भट्टराई भन्छन, ‘अहिले रसुवा हुँदै जान सम्भव छैन। सिमकोट हुँदै जाँदा महंगो पर्छ। त्यसैले बीचको नाकाको रुपमा कोरलालाई अघि बढाउन सके सहज हुन्छ।’

कोरला नाका हुँदै आउजाउ गर्नेलाई शुल्कमा केही सहजीकरण गर्ने हो भने कोरला नाका यो बेलाका लागि सबैभन्दा बढी उपयुक्त हुने उनले बताए। ‘कोरलाबाट एकदिनमा पोखरा आउन सकिन्छ। कोरलाबाट पार गरेपछि पनि सहजै तिब्बत पुग्न सकिन्छ,’ उनले भने।

स्थानीयका अनुसार चिनियाँ अधिकारीले उपल्लो मुस्ताङका जनप्रतिनिधिसँग भेटघाट गर्दे कैलाश मानसरोवरसम्म जानका लागि नाका खुल्ला गर्नेबारे बेला–बेलामा छलफल पनि गर्ने गरेका छन। चीनको तिब्बतमा पर्ने कैलाश मानसरोवर क्षेत्रमा बर्सेनि हजारौँ नेपाली पर्यटकले भ्रमण गर्ने गरेका छन्।

मुस्ताङको बाटो हुदै कैलाश मानसरोवर जान काठमाडौंबाट पोखरा हुँदै करिब ४ सय किलोमिटरको यात्रापछि मुस्ताङको कोरला बोर्डर पुग्न सकिन्छ। हवाईमार्ग हुदै मुस्ताङको जोमसोम पुगेपछि ९६ किलोमिटरको दुरी पार गरेर लोमान्थाङ हुँदै करिब साढे ४ घण्टामा नेचुङ पुग्न सकिन्छ।

नेचुङ–लिजी भन्सारबाट करिब ५८ किलोमिटरमा चीनको सिगात्से प्रान्तको ढोङवासेनमा पुगिन्छ भने त्यहाँबाट ५ सय ८० किलोमिटरको यात्रापछि ६ घण्टामा कैलाश तथा मानसरोवरमा पुग्न सकिने लोमान्थाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास केसीले बताए। उनका अनुसार तिब्वती क्षेत्रको सडक सञ्जाल र सवारीसाधन समेत आधुनिक भएकाले यात्रा सहज छ।  ‘नेपाल र तिब्बतबीचको कोरला नाका खुलाउने बारे बारम्बार यहाँका स्थानीयले अनुरोध पनि गरेका छ। यो बेला नाका खुलाएर कोरला हुँदै पर्यटक पठाउन सक्ने हो भने पर्यटनले फड्को मार्नेछ,’ उनले भने।