images
images

ललितपुर महानगरको कुल खर्च ६८.१४ प्रतिशत, बेरुजु ०.५२ प्रतिशत

काठमाडौँ – ललितपुर महानगरपालिकाको चालू आर्थिक वर्ष २०८१/८२ को असार २५ गतेसम्मको कुल खर्च ६८ दशमलव १४ प्रतिशत पुगेको छ ।

शनिबार पत्रकार सम्मेलन गरी महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले कुल ६८.१४ प्रतिशत खर्च गर्दा पूँजीगत खर्च भने ६०.६२ प्रतिशत गरेको बताएका हुन्।

चिरिबाबु महर्जनका अनुसार पुँजीगत खर्च ६० दशमलव ६२ प्रतिशत र चालू खर्च ८५ दशमलव ३२ प्रतिशत रहेको छ । राजस्व संकलन भने लक्ष्यको ७५ प्रतिशत हासिल भएको महानगरले जनाएको छ । लेखा परीक्षणमा बेरुजु ० दशमलव ५२ प्रतिशत मात्र देखिएको छ ।

महानगरले आफ्नो संस्थागत क्षमतामा पनि सुधार देखाएको छ । पालिका संस्थागत क्षमता स्वमूल्यांकनमा ९३ दशमलव ५ प्रतिशत अंक प्राप्त गरेको छ भने वित्तीय जोखिम मूल्याङ्कनमा ९९ दशमलव ५ प्रतिशत अंक हासिल गरेको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट गरिएको मूल्यांकनमा ललितपुर महानगरपालिकाले ७४ दशमलव ७१ प्रतिशत अंक पाएको जानकारी दिइएको छ । आउँदो आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट तर्जुमाका लागि विभिन्न महत्त्वपूर्ण क्रियाकलापहरू सम्पन्न गरिएको महानगरले जनाएको छ ।