नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले कांग्रेस-एमाले गठबन्धन सरकारको एक वर्षे कार्यकालमा आर्थिक सूचकहरू सकारात्मक देखिए पनि सुशासन कायम गर्ने र सातबुँदे सहमति कार्यान्वयनमा सरकार चुकेको टिप्पणी गरेका छन्।
शनिबार स्कुल अफ डेमोक्रेसीद्वारा काठमाडौंमा आयोजित ‘जनता र सरकार’ विषयक अन्तरक्रियामा बोल्दै नेता महरले सरकारको एक वर्षमा देशका आर्थिक सूचकहरूमा सुधार आएको र केही महत्वपूर्ण नीतिगत काम भएको स्वीकार गरे।
‘यो अवधिमा थुप्रै नयाँ नीति-नियम बनेका छन् र कानुन निर्माणले गति लिएको छ,’ उनले भने, ‘लामो समयदेखि रोकिएका शान्ति प्रक्रियाका काम र नागरिकता ऐन संशोधनजस्ता महत्वपूर्ण विषय पनि टुङ्ग्याइएको छ। यसले जनतामा आशा जगाएको छ।’
महरले सरकारी सेवामा अनलाइन प्रणालीको विकास र देशमा राजनीतिक स्थिरता कायम हुनुलाई सरकारको सकारात्मक पक्षका रूपमा उल्लेख गरे।
यद्यपि, सरकार सञ्चालनको दिशा र व्यवस्थापनप्रति भने उनले प्रश्न उठाए। ‘एक वर्षअघि सरकार बनाउँदा गरिएको संविधान संशोधनसहितको सातबुँदे सहमति कार्यान्वयनतर्फ प्रवेश समेत भएको छैन,’ महरले भने, ‘जनताले खोजेको सुशासन र भ्रष्टाचार नियन्त्रणमा पनि सरकारले खासै उपलब्धि हात पार्न सकेन।’
नेपाली कांग्रेसको १५औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरिरहेका महरले सरकारले आफ्ना कमजोरीहरूलाई छिट्टै सच्याएर जनताको विश्वास जित्नुपर्नेमा जोड दिए। उनले भने, ‘सरकारको बाँकी अवधिलाई सदुपयोग गरेर गठबन्धनको औचित्य पुष्टि गर्न र जनतालाई विकासमार्फत समृद्धितिर डोर्याउनुपर्ने बेला आएको छ।’









