काठमाडौँ, ३१ असार – राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले संयोजक नवराज सुवेदी पूर्ववत् पार्टीमा फर्कन चाहेपछि सिर्जित नयाँ परिस्थितिका सन्दर्भमा आन्दोलनको स्वतन्त्र संयोजनकारी भूमिका निरन्तर रहने स्पष्ट पारेको छ। समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलन नरोकिएको र चाँडै नै नयाँ चरणको स्वतन्त्र नागरिक आन्दोलन घोषणा गर्ने तयारी भइरहेको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, पूर्व संयोजक सुवेदीले पार्टीको आबद्धता परित्याग गरेको घोषणापश्चात् ४४ वटा पार्टी, अभियान र संघसंस्थाहरूले उहाँलाई साझा व्यक्तित्वका रूपमा स्वीकार गरेका थिए। तर, उहाँ पुनः पार्टीकै जिम्मेवारीमा रहन चाहेपछि आन्दोलनले पुनः स्वतन्त्र संयोजनकारी भूमिका खोजेको समितिको भनाइ छ। समितिले सुवेदीको यसअघिको भूमिकाका लागि हार्दिक आभार व्यक्त गरेको छ।
संयुक्त जनआन्दोलनको प्रकृतिमा दलका व्यक्तिहरू रहनै हुँदैन भन्ने नरहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, “यसपूर्व सबै प्रकारका संयुक्त जनआन्दोलन भनिएका गतिविधिहरूमा पनि सबै दल, अभियान र संघसंस्थाहरूको सक्रिय संलग्नता मात्र होइन, नेतृत्व नै हुने गरेको तथ्यलाई हामीले भुल्नु हुँदैन।” राजसंस्था पुनर्स्थापनाका लागि विश्वभर भएका आन्दोलनमा समेत सुरुमा राजसंस्थाविरोधी पहिचान बनाएका दल, समूह र व्यक्तिहरूको समेत नेतृत्व रहने गरेको इतिहासलाई स्मरण गर्दै नेपालमा पनि सबै देशभक्त, प्रजातान्त्रिक (उन्नत लोकतान्त्रिक), राष्ट्रवादी दल, समूह र व्यक्तित्वहरूको आ-आफ्नै स्थानबाट नेतृत्व क्रमशः घोषित रूपमा अघि बढिरहेको समितिले जनाएको छ।
समितिले जुनसुकै दलमा भए पनि वा कुनै पनि दलमा नभए पनि आन्दोलनले साझा स्वतन्त्र नागरिक आन्दोलनको स्वरूप धारण गर्नैपर्नेमा जोड दिएको छ। राजसंस्था पुनर्स्थापना हुँदा राजा चाहनेहरूका लागि मात्र नभई राजाविरोधी विचार राख्नेहरूका लागि पनि राजालाई सबैका साझा बनाउने गरी पुनर्स्थापित गराउने सत्य बिर्सन नमिल्ने विज्ञप्तिमा उल्लेख छ।
संयुक्त जनआन्दोलन समितिले सबै दल, अभियान र संघसंस्थाहरूसँग संवाद अघि बढाइरहेको र चाँडै नै साझा स्वतन्त्र नागरिक आन्दोलन घोषणासहित सबै विकासक्षेत्र, अञ्चल, जिल्ला, पालिका, वडा र टोल समितिहरूबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिइने बताएको छ।
सरकारले शान्तिपूर्ण कार्यक्रममा षड्यन्त्रपूर्वक हस्तक्षेप गर्ने योजना बनाएको सूचना प्राप्त भएको भन्दै समितिले सरकारले छेक्नै नसक्ने नयाँ प्रकृतिका सिर्जनशील र प्रतिरोधी योजनाका साथ आन्दोलन अघि बढाइने चेतावनी दिएको छ।
समितिका प्रवक्ता स्वागत नेपालले विज्ञप्तिमा भनेका छन्, “नेपालमा कि राजसंस्था पुनर्स्थापना हुन्छ कि ग्लोबबाटै नेपालको नक्सा सदाका लागि मेटिने अवस्था वर्तमान विदेशी कठपुतली कुशासकहरूको व्यवस्थाकै कारण आउने छ। त्यसैले आन्दोलनलाई अझ तीव्रतर ढंगले अघि बढाउनुको विकल्प छैन।”
उनले सबै नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई संयम, धैर्य र साहसका साथ एक ढिक्का भएर देशको अस्तित्व जोगाउने लोकतान्त्रिक (प्रजातान्त्रिक) देशभक्तिपूर्ण राष्ट्रवादी आन्दोलनका अब घोषणा हुने नयाँ चरणको स्वतन्त्र नागरिक आन्दोलनमा गोलबद्ध भइदिन र खासगरी युवा साथीहरूमा नेतृत्वका लागि तयार रहन पनि हार्दिक आह्वान गरेका छन्।










