काठमाडौं, ३१ असार – उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)का साझेदार देश र युक्रेनबीच अमेरिकाबाट हतियार आपूर्तिका लागि नयाँ सम्झौता भएको छ।
मिडिया रिपोर्टअनुसार, यस सम्झौता अनुसार अमेरिकाले युक्रेनलाई अत्याधुनिक हतियारसहित ३० करोड डलर बराबरको सहायता प्याकेज पठाउने छ। यो सहायता प्याकेजमा प्याट्रियट मिसाइल प्रणाली र मध्यम दूरीका रकेटहरू समावेश हुनेछन्। यद्यपि यी हतियारबारे अन्तिम निर्णय भने बाँकी नै रहेको बताइएको छ।
युद्धविरामका लागि निरन्तर पहल गरिरहँदा पनि युक्रेनमा मस्कोले आक्रमण नरोकेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुसी समकक्षी भ्लादिमिर पुटिनप्रति असन्तुष्ट देखिएका छन्।
‘हामी प्याट्रियट पठाउने छौं, जसको उनीहरूलाई अत्यन्त आवश्यक छ,’ यसबाहेक युक्रेनलाई अरू कति हतियार पठाउने भन्ने स्पष्ट नगरीकनै ट्रम्पले आइतबार भनेका हुन्। ‘मैले अझै संख्यामा सहमति गरेको छैन तर उनीहरूका लागि सुरक्षा आवश्यक छ,’ ट्रम्पले न्युजर्सीमा आयोजित फिफा क्लब विश्वकप फाइनलपछि पत्रकारलाई भनेका हुन्। ट्रम्पले सोमबार वासिङ्टनमा नाटो महासचिव मार्क रुटसँग कूटनीतिक भेट गर्नुअघि यस्तो घोषणा गरेका हुन्। यसै साता अमेरिकी विशेषदूतले पनि युक्रेनको भ्रमण गरेपछि ट्रम्पले युक्रेनलाई हतियार दिने बताएका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बिहीबार नै अमेरिकाले नाटोमार्फत युक्रेनलाई हतियार पठाउने र त्यसको सम्पूर्ण खर्च नाटोले बेहोर्ने बताएका थिए।
नाटो एक अन्तर्राष्ट्रिय सैन्य गठबन्धन हो। अमेरिका स्वयं नाटोको सदस्य हो। सन् २०२५ सम्म नाटोका ३२ सदस्य राष्ट्र छन्। यसको उद्देश्य सदस्य राष्ट्रहरूको सामूहिक सुरक्षाको सुनिश्चितता गर्नु र बाह्य आक्रमणबाट रक्षा गर्नु हो। अमेरिकाले नाटोले गर्ने खर्चको ६६ प्रतिशत हिस्सा बेहोर्छ।










