images
images

समाजिक सञ्जालको विश्वासमा पासपोर्ट र पैसा नदिन वैदेशिक रोजगार विभागको आग्रह

काठमाडौँ, ३१ असार – सामाजिक सञ्जालमा वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै विभिन्न प्रलोभन देखाउनेसंग सजग रहन र विश्वास नगर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । आज एक प्रेस विज्ञप्ती जारी गर्दै विभागले हालका दिनहरुमा फेसवुक, टिकटक, भाइवर, युटुव तथा हाट्सएप लगायतका सामाजिक सञ्जालहरुमा वैदेशिक रोजगारीमा पठाइदिने भनि विभिन्न प्रलोभनहरु सहितका विज्ञापन गर्ने, राम्रा र आकर्षक सुविधा भएको देशमा पठाइदिने भन्ने आस्वासन दिने, पैसा उठाउने तथा पासपोर्टहरु संकलन गरेर दुख दिने, साथै ई सेभेन भिसा मार्फत कोरिया पठाइदिन्छु भनि गैरकानूनी गतिविधि गरेको भन्ने सुनिन आएकोले सो विषयमा यस विभागको ध्यानाकर्षण भएको जनाएको हो ।

विभागले विज्ञप्तीमा भनेको छ-‘वैदेशिक रोजगार ऐन, २०६४ ले नेपाल सरकारले वैदेशिक रोजगारीमा जानको लागि खुल्ला गरेका मुलुकहरुको हकमा वैदेशिक रोजगार विभागबाट स्वीकृति लिई नेपालकै विमानस्थल प्रयोग गरि जान सकिने तथा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत प्राप्त संस्था बाहेकले सो सम्बन्धी कार्य गर्न नपाउने समेत कानूनी व्यवस्था छ । तर कानून विपरित श्रम स्वीकृति नलिई, अर्को मुलुकको विमानस्थल प्रयोग गरि, गलत सूचना प्रवाह गर्दै भ्रम सिर्जना गरेर विदेश पठाउने जाने कार्य गैरकानूनी भएको र यसरी बैदेशिक रोजगारीमा जाँदा श्रमिकहरु विभिन्न जोखिममा पर्न सक्ने, मानव तस्करी, श्रम शोषण र दुर्व्यवहारको खतरा झन बढ्ने देखिन्छ ।’

वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित र भरपदों बनाउन वैदेशिक रोजगार ऐन, २०६४ ले तोके बमोजिम अनिवार्य रुपमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएको एकिन गरी नेपालकै विमानस्थलको प्रयोग गरी तोकिए बमोजिमका तालिम र ओरेन्टेसन तथा आफ्नो स्वास्थ्य चेकजाँच समेत गरेर कानून बमोजिम जानको लागि विभागले आग्रह गरेको छ ।

गैरकानूनी रुपमा जाने वा पठाउने वा सामाजिक सञ्जालहरुमा जथाभावि विज्ञापन गर्ने जो कोहीलाई कानून बमोजिम कारबाही गर्ने विभागले चेतावनी समेत दिएको छ ।