images
images

सामान्य प्रशासनमन्त्रीमा भगवती न्यौपाने नियुक्त, को हुन भगवती न्यौपाने?

काठमाडौं –  राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन्।

२०७४ सालको स्थानीय निर्वाचनमा भानु नगरपालिकामा मेयर हारेकी भगवती न्यौपाने राष्ट्रिय सभा सदस्य हुँदै अहिले सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छिन् । पर्साबाट निर्वाचित राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि न्यौपानेलाई प्रधानमन्त्री केपी ओलीले मन्त्री पद जिम्मा लगाएका हुन् ।

पराजित भए पनि पार्टीको सिफारिसमा निरन्तर अवसर पाइरहने व्यक्तिमा उनी पर्छिन् । न्यौपाने २०७६ को निर्वाचनमा राष्ट्रिय सभा सदस्यमा विजयी भएकी हुन् । तत्कालीन समयमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र एउटै थियो । 

राष्ट्रिय सभा सदस्य निर्वाचित भएपछि उनी पार्टीको तर्फबाट सचेतक छिन् । उनै न्यौपाने अहिले सामान्य प्रशासन मन्त्री नियुक्त भइन् ।

वि.सं. २०५१ सालमा एमालेको साधारण सदस्यबाट राजनीतिक यात्रा थालेकी न्यौपाने भुइँतहबाटै उठेकी नेतृ हुन् । विद्यार्थी राजनीतिबाट खारिँदै अनेरास्ववियुको राष्ट्रिय परिषद् सदस्य, अनेमसंघ तनहुँको दुई कार्यकाल अध्यक्ष र पार्टीको जिल्ला कमिटीमा निरन्तर सक्रिय उनी तनहुँमै पार्टीको सचिवका रूपमा ९ वर्ष काम गरिन् । 

२०६२/६३ को जनआन्दोलनमा उनको सक्रियताले उनलाई तनहुँमा एक जुझारु नेतृको पहिचान दियो । स्थानीय तहको निर्वाचनमा पराजय नभोगेको भए सायदै उनले मन्त्री बन्ने अवसर पाउँथिन् । न्यौपानेको राजनीतिक यात्रा त्यतिबेला मोडियो, जतिबेला उनी भानु नगरपालिकाको मेयरमा पराजित भइन् । प्रत्यक्ष निर्वाचनमा पराजय भोगे पनि उनलाई साढे २ वर्षपछि एमालेले राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनायो । तत्कालीन नेकपाको गठबन्धनका कारण उनले सहजै चुनाव जितिन् ।

न्यौपाने एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासपात्र हुन् । त्यसो त, उनको राष्ट्रिय सभा सदस्य पदको आयु केही महिना मात्र बाँकी छ । फागुनमा सांसद पदबाट बिदा हुनुअघि उनले सामान्य प्रशासन मन्त्रीको शक्तिशाली जिम्मेवारी पाएकी हुन् । उनी दसौँ महाधिवेशनबाट एमालेको केन्द्रीय सदस्य बनेकी थिइन् । अब राष्ट्रिय सभा सदस्यका रूपमा उनको कार्यकाल आगामी फागुनसम्म मात्र छ । त्यतिन्जेल सिंगो कर्मचारीको तालचाबी उनको जिम्मामा आएको हो ।