images
images

सांसद थापा भन्छन्, ‘गुप्ताको अडियो प्रकरणमा दोषी जो भए पनि कारबाही हुनुपर्छ’

काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएपछि यस विषयको गम्भीरतालाई मध्यनजर गर्दै विवादित अडियो प्रकरणमाथि गहन छानबिन हुनुपर्ने जनदबाब बढेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीकै विश्वास पात्र मानिएका सांसद सूर्य थापाले पनि सामाजिक सञ्जालमा स्टाटस लेख्दै गुप्तामाथि छानविन गर्न दबाब बढाएका हुन्। यस प्रकरणमा संलग्न सबैमाथि तत्काल छानबिन हुनुपर्नेमा उनले जोड दिएका छन्।

सांसद थापाले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, “राजकुमार गुप्ताले राजिनामा दिनुको अर्थ यस विषयको गम्भीरतालाई मध्यनजर गरी गम्भीर छानवीन हुनुपर्ने जनदबाबलाई स्वीकार गरिएको छ। यस प्रकरणमा विवादास्पद अडियोको आवाजमा कोको संलग्न रहेका छन्? ती सक्कली हुन् कि नक्कली? वास्तविक आवाज हो कि प्रविधिको कमाल? राज्यका अनुसन्धान गर्ने निकायहरूले अबिलम्ब काम थाल्नुपर्छ र सार्वजनिक अडियोमा जोसुकै बोलेको भए पनि नियन्त्रणमा लिइहालेर छानवीन गरी दुधको दुध/पानीको पानी छुट्याउनु पर्छ। दोषी ठहरिएका कसैले उन्मुक्ति पाउनुहुँदैन। झोसपोलवाला, बिचौलिया धन्धाकर्मी, भ्रष्ट र ठगहरू कोही पनि छानवीनको दायराभन्दा बाहिर रहनुहुँदैन।”

थापाले यो विषयको उठान आरोप-प्रत्यारोप र एक मन्त्रीको राजीनामामा मात्र सीमित नभई सुशासनको प्रत्याभूति गर्नका लागि भएको स्पष्ट पारेका छन्।