images
images

‘अब ईभीको कारखाना नेपालमै खोल्नुपर्छ’-यातायात सचिव शर्मा

काठमाडौँ,  ३२ असार – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अब विद्युतीय गाडीहरू नेपालमै बनाउनुपर्ने बताएका छन् ।

महानगर यातायात प्रालिको विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै उनले पछिल्लो समय नेपालमा विद्युतीय गाडी (ईभी) को प्रयोग बढेर गएको बताउँदै नेपालमै कारखाना खोल्दा गाडीको मूल्य कम पर्ने र व्यवस्थापनमा समेत सघाउ पुग्ने बताए ।

उनले भने, ‘नेपालमा ईभी फ्याक्ट्री बनाउन पायौँ भने स्पेयर्स पार्ट्स यही बन्ने र गाडीको मूल्य समेत सस्तो पर्छ । यसमा लगानी गर्न आह्वान गर्छु ।’

शर्माका अनुसार अब साना गाडीहरू प्रतिस्थापन गर्नुपर्छ । ‘विद्युतीय यातायात नेपालको परिप्रेक्ष्यमा महत्त्वपूर्ण छ । किनकि इन्धन आयातमा ठूलो रकम बाहिरिरहेको अवस्थामा यसलाई विस्तार गरियो भने बिजुलीको सदुपयोगसँगै अर्बौँ रकम बाहिर जानबाट जोगिन्छ,’ उनले भने ।

उनले थपे, ‘सार्वजनिक यातायातमा महानगरले सुरु गरेको यो काम सकारात्मक छ । काठमाडौं सानो छ, पार्किङ गर्न समस्या छ । साना गाडीहरू हटाउनुपर्छ ।’

बिदाको दिन आफू महानगर यातायात चढ्ने गरेको बताउँदै उनले यातायात क्षेत्रलाई भरपर्दो, सुरक्षित, वातावरण मैत्री बनाउनुपर्ने बताएका छन् ।