काठमाडौं, १ साउन – सञ्चालनमा रहेका १५ फाइनान्स कम्पनीको निक्षेप संकलन सीमा हटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै राष्ट्रिय स्तरका फाइनान्स कम्पनीलाई निक्षेप संकलन सीमा हटाएको हो ।
राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक तथा ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीलाई निक्षेप संकलनसम्बन्धी कुनै सीमा नलाग्ने व्यवस्था गरेको छ ।
‘क’ वर्गका इजाजतपत्रप्राप्त संस्था तथा ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकलाई निक्षेप संकलनसम्बन्धी कुनै सीमा नलाग्ने व्यवस्थामा संशोधन गरेको हो ।
राष्ट्र बैंकका अनुसार हाल १७ फाइनान्स कम्पनी सञ्चालनमा छन् । तीमध्ये १५ राष्ट्रिय स्तरका हुन् । यी फाइनान्सलाई १५ प्रतिशतको निक्षेप संकलन सीमा हटेको हो ।
त्यस्तैगरी, राष्ट्रियस्तरका वित्त कम्पनी बाहेकका ‘ग’ वर्गका इजाजतपत्रप्राप्त संस्थाले आफ्नो प्राथमिक पुँजीको बढीमा १५ गुणासम्म वित्तीय स्रोत (ब्याज वा बिना ब्याजमा स्वीकार गरिने कुनै पनि प्रकारको निक्षेप, सापटी र विभिन्न किसिमका ऋण उपकरणहरु) संकलन गर्न सक्ने व्यवस्था पनि गरिएको छ।










