काठमाडौँ – नेकपा एमालेमा पदाधिकारीको सङ्ख्या घटाउने प्रस्ताव पेश भएको छ।
आउँदो भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनमा पेश गर्न विष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलले पदाधिकारीको सङ्ख्या कम गर्ने प्रस्ताव गरेको हो।
पौडेलले जारी सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष पद कटौती गरेर उपाध्यक्षको सङ्ख्या पाँचबाट तीनमा झार्न प्रस्ताव गरेका छन्।
प्रस्तावमा अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव १ र सचिव ५ गरिएको छ। त्यस्तै, केन्द्रीय कमिटीको सङ्ख्या १९९ मा सीमित गर्न पौडेल नेतृत्वको कार्यदलले प्रस्ताव गरेको छ।
स्रोतका अनुसार कार्यदलले महासचिवको अधिकारसमेत कटौतीको प्रस्ताव गरेको छ। एमालेको राजनीतिमा फर्किएर पार्टी अध्यक्ष बन्ने विद्यादेवी भण्डारीको घोषणासँगै अध्यक्ष ओलीको निर्देशनमा पदाधिकारी र केन्द्रीय कमिटी सङ्ख्यामा उल्लेख्य फेरबदल हुने गरी प्रस्ताव तयार गरिएको हो।
पेश गरिएको प्रस्तावमाथि सचिवालयका सदस्यहरूले धारणा राखिरहेका छन्।
ओलीको चाहनाबमोजिम प्रस्ताव आएको हुँदा सचिवालयले पारित गरेर विधान अधिवेशनमा पेश हुने सम्भावना बलियो छ। जसले एमालेको शक्ति सन्तुलनमा निकै फेरबदल ल्याउनेछ।










