images
images

संयुक्त विज्ञप्ति जारी गर्दै राप्रपाका चार नेताले भने : अध्यक्ष लिङ्देनको निर्णयले राप्रपापुग्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको विवाद सतहमा आएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले विधान उल्लंघन गरेर स्वेच्छाचारी क्रियाकलाप गरेको चार नेताको आरोप छ ।

वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्रीद्वय डा. धवलशमसेर राणा र कुन्ती शाहीले बिहीबार विज्ञप्ति निकालेर अध्यक्ष लिङ्देनका कारणले पार्टीमा अपूरणीय क्षति पुगेको आरोप लगाएका हुन् ।

‘विधानको व्यवस्था अनुरुपको विधि, संख्या र सीमा नाघेर एकलौटी रुपमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्यहरु थप्ने र हटाउने कार्य यस अघि पनि पटक–पटक हुँदै आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विधानको अक्षरशः पालना हामी सबैको प्रमुख कर्तब्य भए पनि जिम्मेवार तहबाटै विधानको उपेक्षा र उल्लंघन हुनु, स्वेच्छाचारिता सतहमा आउनु दु:खद घटनाक्रम हो ।’

पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लावतीको घरमा भएको बैठकमा नवराज सुवेदीलाई अध्यक्ष लिङ्देनले पूर्ववत् जिम्मेवारीमै रहेको बताएको विज्ञप्तिमा दाबी गरिएको छ ।

बैठकमा लिङ्देन, लावती, पूर्वअध्यक्ष मा. पशुपति शम्सेर जबरा, नवराज सुवेदी, नेता हरिबहादुर बस्नेतको उपस्थिति भएको बेला अध्यक्षले उक्त अभिव्यक्ति दिएको उल्लेख गरिएको छ ।

सुवेदीलाई अध्यक्ष लिङदेनले भनेको बोलीबारे लेखिएको छ, ‘दाइ पार्टीमा पूर्ववत् रुपमा प्राप्त जिम्मेवारी पूरा गर्न सशक्त भएर अघि बढ्नुहोस् ।’ सुवेदीलाई अनुशासन समितिबाट हटाइएकोप्रति आपत्ति जनाइएको छ ।

महामन्त्री राणा भारतमा क्यान्सरको उपचार गरिरहेको बेला सगुन सुन्दर लावतीलाई संगठन विभागको प्रमुखबाट, पार्टी प्रवक्ता र केन्द्रीय सदस्य धनसुर शाहीलाई संयोजित संगठन समन्वय विभागको सदस्य सचिव पदबाट विधान विपरीत हटाइएको उनीहरुको दाबी छ ।

क्रियाशील नेतालाई श्रृंखलावद्ध रुपमा कारबाही हुँदा पार्टीपंक्ति र जनमानसमा शंका र प्रश्नहरु उब्जिएको उनीहरुले  विज्ञप्तिमा लेखेका छन् ।