images
images
images

‘खल्ती बाई आईएमई’ : नेपालको डिजिटल भुक्तानी क्षेत्रकै सबैभन्दा ठूलो मर्ज

काठमाडौं – आईएमई पे र खल्ती मर्ज भएर साउन १ गते देखि ‘खल्ती बाई आईएमई’ नामबाट एकीकृत कारोबार सञ्चालन भएको छ ।

नेपालमा पहिलो पटक भएको दुई वालेट बीचको यस एकीकरणलाई नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरको उपस्थितिमा याक एन्ड यतिमा एक भव्य समारोह गर्दै औपचारिक घोषणा गरिएको हो ।

झन्डै एक दशकदेखि विभिन्न डिजिटल भुक्तानी सेवाहरू प्रदान गर्दै आ-आफ्नो पहिचान बनाएका यी दुई वालेटले एक भई ‘खल्ती बाई आईएमई’ नाममा कारोबार शुभारम्भ गरेका छन् । एक मात्र ब्याज दिने वालेट रूपमा रहेको आईएमई पे रेमिटेन्स, इनड्राइभ भुक्तानी जस्ता सेवाहरूका लागि प्रख्यात थियो भने खल्ती मुभी बुकिङ, इभेन्ट टिकटिङ र आफ्नो नयाँ इनोभेसनका कारण युवा पुस्ता माझ लोकप्रिय थियो । अब यी दुवै वालेट मर्ज भएर एक भए पश्चात् आ-आफ्ना उत्कृष्ट फिचरहरूलाई अझै परिष्कृत, सहज, सरल र सुरक्षित रूपमा पस्किने अपेक्षा गरिएको छ ।

आईएमई पे आईएमई ग्रुपअन्तर्गत सञ्चालनमा रही आएको थियो भने ४ जना सह-संस्थापक मिलेर स्थापना भएको खल्ती वालेटमा पछि वल्डलिंक, त्रिवेणी ग्रुपहरू जस्ता कर्पोरेटहरू लगानीकर्ताको रूपमा भित्रिएका थिए । नयाँ कम्पनी ‘आईएमई खल्ती लिमिटेड’ नाममा रजिस्टर्ड भएको छ भने एप ‘खल्ती बाई आईएमई’ नामबाट सञ्चालन हुनेछ ।

साबिकका आईएमई पेका प्रयोगकर्ताहरूका लागि ‘खल्ती बाई आईएमई’ मा माईग्रेट गर्ने सुविधा सार्वजनिक भइसकेको छ, जसबाट आईएमई पे वालेटमा रहेको रकम, ब्याज, रिवार्ड प्वाइन्टहरू र सम्पूर्ण विवरणहरू नयाँ एपमा स्थानान्तरण हुनेछन् । खल्तीका प्रयोगकर्ताहरूले भने आफ्नो खल्ती एपलाई अपडेट गरी नयाँ एपको अनुभव गर्न सक्नेछन् ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, बम बहादुर मिश्रले उक्त समारोहमा डिजिटल भुक्तानीले वित्तीय पारदर्शकताको बढोत्तरी हुने भएका कारण हरेक क्षेत्रमा यसको लागू हुन जरुरी भएको कुरालाई खास जोड दिए । यसका साथै सबै नेपालीहरू माझ अझ सुरक्षित, अझ सरल र सबल भुक्तानी प्रक्रिया लागि एक प्रयोगकर्ता मैत्री प्लेटफर्मको रूपमा अगाडि बढ्न बधाई तथा शुभकामना व्यक्त गरे ।

आईएमई पेका अध्यक्ष कृष्णप्रसाद शर्माले समारोहमा आफ्ना कुरा राख्दै भने, “आईएमई पेको यात्रा समावेशी वित्तीय सेवामा गहिरो आधार निर्माण हो । अब खल्तीसँगको एकताबाट बनेको आईएमई खल्ती लिमिटेडले डिजिटल नेपालको सम्भावनालाई नयाँ गति दिनेछ ।”

खल्तीका अध्यक्ष मनोजकुमार अग्रवालले भने, “खल्ती र आईएमई पेको एकता नेपाली डिजिटल वित्तीय क्षेत्रको दीर्घकालीन समृद्धिका लागि एक ऐतिहासिक कदम हो । अब आईएमई खल्ती लिमिटेडले सम्पूर्ण देशभर वित्तीय पहुँचको नयाँ युग सुरु गर्नेछ ।”

आईएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले अबको मिसन र भिजन बारे बताउँदै डिजिटल पहुँचलाई थप विस्तार गर्ने, डिजिटल साक्षरता अनि समावेशीकरणका लागि थप योजनाहरू बनाउने प्रतिबद्धता व्यक्त गरे ।

खल्तीमा आधिकारिक प्रयोगकर्ता 70 लाखभन्दा बढी रहेका छन् भने आईएमई पे मा ५७ लाखभन्दा बढी छन् जो अब एकै एपमा समावेश भई १ करोड २७ लाख हुनेछन् । आईएमई पे Digital Services ICT Award 2024, HRM Award for Corporate Excellence in the FinTech category 2023 र Visa Leadership Conclave Nepal 2023 मा Excellence in Fintech Partnership Award ले सम्मानित भएको थियो । त्यसैगरी खल्ती पनि WITSA Global Innovation & Tech Excellence
Awards २०२२, देशकै सबै भन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने भुक्तानी सेवा प्रदायक २०२३, 2024 (NCHL बाट लगातार २ वर्ष) र अनवरत रूपमा डिजिटल कारोबारमा पुर्‍याएको उल्लेखनीय योगदानको उच्च कदरमा नेपाल राष्ट्र बैंकबाट सम्मानित भएको थियो ।

एकीकरण पश्चात् ५४.५४ करोडभन्दा बढी चुक्ता पुँजी भई ‘आईएमई बाइ खल्ती’ देखकै ठूलो डिजिटल वालेट बनेको छ । यस नयाँ सुरुवातले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।