images
images
images

एक वर्षमा ८ लाख ३९ हजार नेपालीले लिए वैदेशिक रोजगारका लागि श्रम स्वीकृति

काठमाडौँ, २ साउन – गत आर्थिक वर्षमा वैदेशिक रोजगारका लागि ८ लाखभन्दा बढी श्रमिकले श्रम स्वीकृति लिएका छन्।

वैदेशिक रोजगार विभागले शुक्रबार पत्रकार सम्मेलन गर्दै गत आर्थिक वर्ष २०८१/०८२ मा ८ लाख ३९ हजार २६६ जनाले वैदेशिक रोजगारको लागि श्रम स्वीकृति लिएको जानकारी दिएको हो।

विभागका अनुसार श्रम स्वीकृति लिनेहरुमा ७ लाख ४४ हजार ८ सय ११ जना पुरुष र ९४ हजार ४५५ जना महिला रहेका छन्।

गत आर्थिक वर्षमा सबैभन्दा धेरै श्रमिकहरु युएई, साउदी अरेबिया, कतार, कुवेत, मलेसिया, रोमानिया, जापान, कोरिया, क्रोएसिया र बहराइन गएका छन्।

विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले विगत पाँच वर्षमा ३५ लाख १६ हजार ९६५ जनाले श्रम स्वीकृति लिएको उल्लेख गरे। उनका अनुसार हालसम्म १ हजार ६ सय ८७ संस्थाहरुले इजाजत प्राप्त गरेकोमा २०८२ असार मसान्तसम्म २१२ वटा संस्थाहरु नवीकरण भएका छन्।

उनले श्रम स्वीकृतिको सेवा प्रवाहलाई ‘वर्क प्रमिट अन दि सेम डे’को पूर्ण कार्यान्वयन भइरहेको पनि बताए। उनले रित नपुगेको अनलाइन दरखास्तको हकमा आवश्यक कागजात पेस गर्न तत्कालै सन्देश पठाउने गरिएको पनि बताए।

उनले वैदेशिक रोजगारीको क्षेत्रलाई विचौलियामुक्त गरी शून्य सहनशीलताको नीतिलाई विभागले पूर्ण रुपमा अंगिकार गरेको पनि बताए।

महानिर्देशक भट्टराई वैदेशिक रोजगरासम्बन्धी कानूनलाई संशोधन गरी सरल, सअज र समय सापेक्ष बनाउने तथा वैदेशिक रोजगारीमा जान लाग्ने समय र लागत घटाउने विभागको अगामी योजना रहेको बताए।