images
images
images

जलेश्वरमा क्रीकेट एकेडेमी निर्माणका लागि ३ करोडको बजेट,स्थलगत निरीक्षणसहित प्रतिबद्धता व्यक्त

महोत्तरी -नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा जलेश्वर नगरपालिका वडा नं. २ मा निर्माण गरिने क्रीकेट एकेडेमीका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ । सो एकेडेमी निर्माणको सन्दर्भमा शुक्रबार विशेष निरीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

लोसपा नेपालका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी, मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री माननीय रानी कुमारी तिवारी, मधेश प्रदेशका सांसद एवम् संसदीय दलका नेता जैनुल राईन, नेपाल–भारत मैत्री समाजका मधेश प्रदेश अध्यक्ष लव राजा सिंह, तथा जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनारको गरिमामय उपस्थिति रहेको कार्यक्रमका क्रममा एकेडेमी निर्माणको लागि तोकिएको जग्गा स्थलगत निरीक्षण गरिएको हो ।

कार्यक्रममा जिल्ला क्रीकेट संघ महोत्तरीका अध्यक्ष तथा नेपाल क्रीकेट संघ (क्यान) का उपाध्यक्ष रोशन कुमार सिंहले जग्गाको अवस्थाबारे जानकारी गराउँदै एकेडेमी निर्माणको आवश्यकता र सम्भावनाबारे प्रष्ट पार्नुभएको थियो । उहाँले एकेडेमीले जिल्लाका युवाहरूको प्रतिभा उजागर गर्ने प्लेटफर्म बन्ने विश्वास व्यक्त गर्नुभयो ।

निरीक्षणपछि उपस्थित माननीयहरूले निर्माण कार्य यथाशीघ्र सुरु गर्न सकरात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  उहाँहरूले एकेडेमी निर्माणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सहयोग पुर्‍याउने उल्लेख गर्दै स्थानीय युवा तथा खेलकुद क्षेत्रको विकासका लागि यो एक महत्वपूर्ण परियोजना हुने बताउनुभयो ।

एकेडेमी निर्माण कार्य स्थानीय सरोकारवालाको समन्वय, पारदर्शिता र गुणस्तरीय निर्माणका आधारमा अघि बढाइने जानकारी आयोजक समितिले दिएको छ ।