महोत्तरी-लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष तथा वरिष्ठ नेता महन्थ ठाकुरले नेपाल–भारतबीचको जनस्तरको सम्बन्ध अत्यन्त बलियो र प्रगाढ रहेको बताएका छन् ।
शुक्रबार महोत्तरीको जलेश्वरमा नेपाल–भारत मैत्री संघद्वारा आयोजित सम्मान तथा पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि रहेका अध्यक्ष ठाकुरले दुई देशबीचको सम्बन्धलाई केवल राजनीतिक वा कूटनीतिक तहमा सीमित नगरि जन–जनको आत्मीयता र ऐतिहासिक सम्बन्धको जगमा आधारित रहेको बताए ।
“अधिकारको लागि संघर्षको मैदान कहिल्यै छोड्नु हुँदैन,” उनले जोड दिँदै भने, “तर सम्बन्ध सधैं जनताको तहमा गहिरो र स्थायी हुन्छ । त्यसलाई अझ सुदृढ गर्न हामी सबैको भूमिका हुनुपर्छ।”
कार्यक्रममा विशिष्ट अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बदलिंदो भूराजनीतिक परिस्थितिमा नेपाल–भारत खुला सिमानाको सुरक्षा दुवै देशको साझा दायित्व भएको उल्लेख गर्दै, नेपाली भूमि भारतविरुद्ध प्रयोग हुन नदिन सबै पक्ष सचेत रहनुपर्नेमा जोड दिए ।
समारोहमा धनुषाका २४ र महोत्तरीका १८ विद्यार्थीलाई साइकल र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रम नेपाल–भारतबीचको मित्रता प्रगाढ बनाउन आयोजित गरिएको आयोजक संस्थाले जनाएको छ ।









